मङ्सिर ८,काठमाडौं।।
लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा नियुक्त आनि छोइङ डोल्माको नियुक्ति गैरकानुनी तथा विधि र प्रक्रियाविपरीत भएको दाबीसहित सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।
राष्ट्रिय जेनजी नागरिक अभियानका अभियन्ताहरू सुनिल सिंह, विरजन विश्वकर्मा र सफलता बोगटीले उक्त नियुक्तिको कानुनी वैधतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।
नागरिकतासम्बन्धी विवाद तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा आवश्यक कानुनी प्रक्रिया पूरा नगरी नियुक्ति गरिएको भन्दै अभियानले यसअघि पनि निरन्तर खबरदारी गर्दै आएको थियो ।
तर, विवादका बीच आनि छोइङ डोल्मा लुम्बिनी विकास कोषमा उपस्थित भई कार्यभार सम्हालिसकेकी छन् । यसै सन्दर्भमा नियुक्तिको कानुनी वैधता परीक्षण गरी विधिको शासन र कानुनी प्रक्रियाको सुनिश्चितता गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरिएको हो ।








