पोखरा ।।
कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र संयुक्त राष्ट्रसंघिय विकास कार्यक्रम (युएनडिपी) को आर्थिक सहयोगमा पोखरामा सञ्चालन हुने रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना परियोजना अन्तरगत कोसेली घरको शिलान्यास गरिएको छ । कोसेली घरको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेवि गुरुङ, कोइका नेपालका कन्ट्री डाइरेक्टर मोहेन कोङ, युएनडिपीका एसिया क्षेत्रीय निर्देशक क्रिस्टोफर बहाइटले संयुक्त रूपमा पोखरा नयाँबजार स्थित प्रदर्शनी केन्द्रमा शिलान्यास गरे ।
शिलान्यास समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख आचार्यले हरित रोजगारी सृजनासँगै चक्रीय अर्थतन्त्रको निर्माणमा यसले महत्त्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो । फोहोरमैलाको व्यवस्थापन निकै चुनौतीपूर्ण भइरहेका बेला यसलाई मोहोरमा बदल्ने गरी महानगर क्षेत्रका १३६ वटा समूहहरू मार्फत पुनः प्रयोगमा आउने सामाग्रीहरू निर्माण गरी आर्थिक रूपमा सामुदायिक सशक्तीकरण समेत हुने उनको विश्वास छ ।
‘विभिन्न चरणमा हामीले पोखरा महानगरपालिकाका १३६ वटा सामुदायिक समूहहरू निर्माण गरी आवश्यक तालिम तथा प्राविधिक दक्षता अभिवृद्धिको कार्यक्रम गरीसकेका छौँ, उहाँले भन्नुभयो, यसले सामुदायिक स्तरमा रोजगारी सृजना र चक्रीय आर्थिक प्रणालीमा जोडिने अवसर समेत प्रदान गर्नेछ ।’ विदेश पलायन भइरहेको युवा शक्ति र गृहिणी महिलाहरूका लागि समेत हरित रोजगारी सृजना महत्त्वपूर्ण रहेको उहाँले बताउनुभयो । ‘यस परियोजनाले युवाहरूलाई रोजगारीसँग जोड्ने छ भने, फोहोरबाट मोहोर पनि आर्जन हुनेछ ।’ नगर प्रमुख आचार्य भने । परियोजनाको पहिलो चरणमा ३ हजार बढी प्रत्यक्ष/अप्रत्यक्ष रोजगारी सृजना हुने उनले बताए ।
कोइका नेपालका कन्ट्री डाइरेक्टर मोहेन कोङले पोखरा महानगरपालिका र कोइका बिचको सहकार्य तथा समझदारीलाई बलियो बनाउँदै यस परियोजनाले नयाँ उचाइ प्रदान गर्ने विश्वास व्यक्त गरे । नेपालको पर्यटन राजधानी पोखरामा रिसाईकल र अपसाइकल मार्फत हरित रोजगारी सृजनाको नमुनाका रूपमा विकास गर्न यो परियोजना कोषेढुङ्गा साबित हुने कोङ्ले उल्लेख गर्नुभयो । ग्रिन जब क्रियसन संसारमा निकै प्रभावकारी परियोजनाका रूपमा अगाडी आएको उनले बताए ।
संयुक्त राष्ट्रिय विकास कार्यक्रम (युएनडिपी) का एसिया क्षेत्रीय निर्देशक क्रिस्टोफर बहाइटले हरित अर्थतन्त्रमा योगदान पुर्याउने दिगो रिसाइकल र अप–साइकल (आरयू) उद्यमहरूलाई बढवा दिन यो परियोजना प्रभावकारी हुने बताए । उनका अनुसार यसले आरयू उद्यमहरूको क्षमता निर्माण गरी हरित रोजगारी सिर्जना गर्न सहयोग गर्नेछ । परियोजना मार्फत ग्रिन भेन्चर जोन (जीभीजेड) स्थापना गरी नयाँ तथा आरयू उद्यमहरूलाई व्यवसाय इन्क्युबेशन सहायता (वित्तीय, प्राविधिक र बजार) प्रदान गरिने उनले बताए ।
पोखरा महानगरपालिकाकी उपप्रमुख मन्जुदेवी गुरुङले स्वच्छ पोखरा, हरित पोखरा निर्माणसँगै हरित रोजगारी सृजनामा समेत यो परियोजनाले उल्लेखनीय भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले पर्यटन राजधानी पोखराका लागि परियोजना रोजगारी सृजनाको नयाँ प्रयोगका रूपमा प्रभावकारी हुने बताउनुभयो । पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्कीले यो परियोजना पोखराका लागि रोजगारी सृजना, सिकाई प्रवर्द्धन र उत्पादनका हिसाबले महत्त्वपूर्ण हुने बताए ।
परियोजनामा कोइकाले ९.८ मिलियन अमेरिकी डलर र युएनडिपीले ०.८७ मिलियन अमेरिकी डलर लगानी गर्नेछन् । १ वर्ष ६ महिनामा निर्माण सम्पन्न गर्ने गरी कोसेली घर निर्माणको ठेक्का इन्टरनेश्नल इन्जिनियरिङ एन्ड कन्स्ट्रक्सन कम्पनी अनामनगर काठमाण्डौले पाएको छ । परियोजनाले नकुहिने फोहोर प्रशोधन सहित फोहोरबाट नयाँ चिजहरू उत्पादन गर्नेछ । यसलाई सिकाई केन्द्रका रूपमा विकास गरिने र पोखराका लागि एक पर्यटन गन्तव्यका रूपमा समेत यो स्थापित हुने विश्वास गरिएको छ ।
फोहोरमैलाको उचित व्यवस्थापन मार्फत हरित रोजगारी सृजना र चक्रीय अर्थतन्त्रको सृजनशील उपयोग आम समुदायका लागि निकै महत्त्वपूर्ण मानिन्छ । हरित अर्थतन्त्रमा योगदान पुर्याउने आरयू उद्यमहरूलाई बढवा दिन दिगो नीतिको सुनिश्चितता सहित महानगरपालिकाले परियोजनाको स्वामित्वमा लिनेछ । ३० अगस्ट २०२३ मा नगर प्रमुख आचार्य र कोइकाका उपप्रमुख युन यंग ली बिच सम्झौता भएको थियो ।












