तनहुँ ।।
तनहुँमा पर्यटकीय गाउँ भुजिकोट क्षेत्रको प्रचार गर्न नयाँ वर्ष २०८२ को पहिलो दिन ‘दोस्रो भुजिकोट स्थानथोक राष्ट्रिय खुला उकालो दौड प्रतियोगिता हुने भएको छ । अन्नपूर्ण युवा क्लब कोत्रेको आयोजनामा प्रतियोगिता हुने भएकोे हो ।
क्लबका पुर्व अध्यक्ष एवं कार्यक्रमका संयोजक खेम गुरुङ्गले भूजिकोटसँगै समग्र वडामा पर्यटकीय गतिविधि सञ्चालन गर्न कार्यक्रम आयोजना गरिएको बताएका छन् ।
उनले १८ देखि ४५ बर्ष उमेर समुहमा महिला र पुरुष सहभागि हुने गरि खुला दौड प्रतियोगिता हुने जानकारी दिएका छन् ।
शुक्लागण्डकी नगरपालिका वडा न २ को पर्यटकीय क्षेत्र भुजिकोट, स्थानथोक सहित यहाँ रहेका पुराना सास्कृतिक बस्ती, आदिबासी समुदायको संस्कृति, घरबास कार्यक्रम, ऐतिहासिक स्थलको अवलोकन र दृश्यावलोकन मार्फत यस क्षेत्रको प्रचार गर्न प्रतियोगिता सफल हुने संयोजक गुरुङ्गको विस्वास रहेको छ ।
क्लबका अध्यक्ष अनिल खनालको अध्यक्षतामा भएको कार्यक्रममा दौड सहित गुलेली हान्ने, कुखुराको भाले समाउने र सांस्कृतिक प्रस्तुती प्रदर्शन गर्ने लगायतका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।
अध्यक्ष खनालले देशभरका २०० जना धावक सहभागि गराउने उदेश्य रहेको दावि गर्दै उत्कृष्ट २० जनासम्मलाई मेडल मार्फत सम्मान गर्ने बताए।
कार्यक्रमका प्रवक्ता तिर्थराज खनालले प्रतियोगितामा सहभागि भई विजेता हुने प्रथम सहित पाँचौ सम्मका धावकलाई क्रमश, ३३ हजार तीन सय ३३, २२ हजार दुई सय २२, ११ हजार एक सय ११, पाँच हजार पाँच सय ५५ र तीन हजार तीन सय ३३ नगद सहित सम्मान गरिने बताए।
कोत्रे चोकदेखि स्थानथोकसम्मको ९ किलोमिटरको दुुरीमा प्रतियोगिता हुने जनाउदै प्रवक्ता खनालले धावकको नाम दर्ताका लागि रु दुई सय ५० शुल्क लाग्ने बताए।
आयाेजका अनुसार साे प्रतियोगिता सम्पन्न गर्न तीन लाख लाग्ने जानकार दिएकाे छ । क्लबले यस अघि २०७५ मा पनि भुजिकोट उकालो दौड प्रतियोगिता सञ्चालन गरेको थियो ।
तर कोरोना महामारी लगायतका विभिन्न कारणले रोकिएको प्रतियोगितालाई अब निरन्तरता दिने पनि आयोजनाले जनाएको छ ।
शुक्लागण्डकी नगरपालिका २ भूजिकोट—स्थानथोकबाट पोखराका तालतलैयादेखि हिमालयका मनमाेहक दृश्य, विभिन्न जिल्लाका दृश्यवलोकन, राष्ट्रिय फुल लालिगुराँसको अवलोकनका साथै ग्रामिण परिवेश नियाल्न सकिन्छ ।









