नवौं पोखरा स्पाेर्ट्स अवार्डका लागि ४ विद्यामा मनोनयन सार्वजनिक
  • प्रमुख खबर

पोखरा ।।
‘नवौं पोखरा स्पाेर्ट्स अवार्ड २०८१’ को लागि ४ विद्यामा मनोनयन सार्वजनिक भएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले बुधबार पोखरामा पत्रकार सम्मेलन गर्दै स्पोर्टस् अवार्डको ४ विद्याको मनोनयन सार्वजनिक गरेको हो ।

अवार्ड अन्तर्गत वर्ष सर्वोत्कृष्ट खेलाडी पुरुष र महिला, वर्ष उदीयमान वर्ष खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक विधाका मनोनयनमा पर्न सफल ३/३ जना खेलाडीको नाम सार्वजनिक गरेकाे छ ।

यही बैशाख २६ गते पोखरा इभेन्ट सेन्टरमा आयोजना हुने अवार्ड अन्तर्गत मनोनयनको वर्ष सर्वोत्कृष्ट
खेलाडी पुरुषतर्फ भलिबलका विश्वास अधिकारी (नवलपुर), टेनिसका प्रदीप खड्का (कास्की) र फुटबलका सुमित श्रेष्ठ (कास्की) मनोनयनमा परेका छन् ।

त्यस्तै, वर्ष सर्वोत्कृष्ट महिला खेलाडी विधामा भलिबलकी अरुणा शाही (कास्की), फेन्सिङकी कृपा गुरुङ (स्याङ्जा) र आईटिएफ तेक्वान्दो/मुआथाईकी सुस्मिता थापा मगर (बागलुङ) परेका छन् ।

त्यसैगरि वर्ष उदीयमान खेलाडीमा एथ्लेटिक्सका बादल कार्की (बागलुङ), भलिबलका जितबहादुर सार्की (स्याङ्जा), र क्रिकेटकी रचना चौधरी (कास्की) मनोनयनमा परेका मञ्चले जनाएको छ ।

यसैगरी वर्ष उत्कृष्ट प्रशिक्षक विधामा टेनिसका निरज थापा (कास्की), भलिबलका रमेश केसी (स्याङ्जा) र फुटबलका राजेन्द्र तामाङ (कास्की) मनोनयनमा परेका छन् ।

मनोनयन सार्वजनिक कार्यक्रममा पूर्व अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी तथा पर्यटन व्यवसायी गणेश बहादुर भट्टराईले युवा विदेश पलायन हुँदा नेपालमा युवा नपाईने अवस्था आएको र खेलकुद क्षेत्रमा समेत यसले ठूलो असर पारेको बताए ।

देशको आर्थिक अवस्थानै खराब भैरहेको अवस्थामा अवार्डको पुरस्कार राशि वृद्धी गर्न नसकिएको जानकारी दिँदै मञ्चका अध्यक्ष एमबि आस्था मगरले अवार्डमा साथ दिन सबैमा आग्रह गरे ।

खेलाडी तथा खेल क्षेत्रमा क्रियाशीललाई उर्जा थप्न मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्टस् अवार्ड गर्दै आइरहेको छ ।

अवार्ड कार्यक्रम मार्फत वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलकुद सङ्घसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिदै आएको मञ्चले जनाएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी, गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्थाको रुपमा परिचित छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्