काठ्माण्डाैं ।।
शिक्षामन्त्री र शिक्षकहरूबिचको वार्ता सुरू भएको छ । सहमतिलाई अन्तिम रूप दिन शिक्षामन्त्री रघुजी पन्त र नेपाल शिक्षक महासङ्घका पदाधिकारीसहित महासङ्घमा आबद्ध शिक्षक संगठनका प्रतिनिधिहरूबीच अहिले वार्ता सुरु भएको हाे ।
मगंलबार(हिजाे) रातिसम्म चलेको वार्ता सकारात्मक भएकोले पनि आजकाे वार्तालाई दुवै पक्षले अन्तिम रूप दिने महासङ्घका महासचिव तुला बहादुर थापाले जानकारी दिएका छन् ।
महासङ्घले पेस गरेको ९ बुँदे प्रस्तावमाथि सहमतिको प्रयास खोजिँदै छ । आजको वार्तामा सहमति जुटेको खण्डमा सरकारले मन्त्रिपरिषद् बैठकबाट निर्णय गर्नेछ ।
शिक्षकहरुले उठाएका मागहरूमा सबै शिक्षक कर्मचारीको स्वास्थ्य उपचारका लागि सात वटै प्रादेशिक अस्पताल र काठमाडौँस्थित निजामती अस्पतालमा सहुलियत र सुविधाको व्यवस्था गर्ने, राहत, अस्थायी / करार, साविक उमावि, सिकाइ अनुदान, प्राविधिक धार र विशेष शिक्षा, बालविकास सहजकर्ता लगायत सबै अस्थायी प्रकृतिका शिक्षक तथा विद्यालय कर्मचारीको बिरामी बिदा सञ्चित हुने र त्यो बापतको रकम अवकाशको बखत एकमुष्ट प्रदान गर्ने रहेको छ ।
विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित देशभरका शिक्षक तथा विद्यालय कर्मचारीहरू गत चैत २० गतदेखि आन्दाेलनमा छन् । जसले गर्दा यतिबेला देशभरका सामुदायिक विद्यालयहरु ठप्प छन् ।









