मिसन ८४ मार्फत एमालेलाई निर्णायक शक्ति बनाउने प्रधानमन्त्री ओलीको दाबी
  • प्रमुख खबर

काठमाडौं//

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको भावी योजनाअन्तर्गत मिसन ८४ को उद्देश्य नेकपा एमालेलाई निर्णायक राजनीतिक शक्तिका रूपमा विकास गर्नु रहेको बताएका छन्।

अनेरास्ववियुको २४औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विगतमा विश्वभर समाजवादी र कम्युनिष्ट आन्दोलन धरासायी हुँदै गएको बेला नेपालमा जनताको बहुदलीय जनवादले आन्दोलनको रक्षा गरेको उल्लेख गरे।

उनले वर्तमान समयमा पनि विपक्षी दलहरू विभिन्न जालझेलमा लागिरहेको बताउँदै, एमालेका लागि एकता, फेरि एकता र सुदृढ एकता अपरिहार्य भएको धारणा व्यक्त गरे।

प्रधानमन्त्री ओलीले आगामी १३ महिनापछि नेपाली कांग्रेसलाई नेतृत्व हस्तान्तरण गरेर आफूहरू सरकारबाट बाहिरिने र त्यसपछि मिसन ८४ मा केन्द्रित हुने स्पष्ट पारे।

गणतन्त्रको रक्षा, मजबुतीकरण र गतिशील रूपमा अगाडि बढाउने जिम्मेवारी एमालेको काँधमा रहेको दाबी गर्दै उनले सम्पूर्ण विद्यार्थीहरूलाई कुनै पनि कालखण्डमा पार्टी र विचारप्रतिको निष्ठा नत्याग्न आग्रह गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्