श्रावण ०२, काठमाडौं ।।
पूर्वउपप्रधानमन्त्री तथा नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतम चार वर्षपछि नेकपा एकीकृत समाजवादीमा विलय भएका छन् ।
शुक्रबार राष्ट्रिय सभागृहमा भएको एकता सभामा गौतम एकीकृत समाजवादीमा विलय भएका हुन् । २०७५ साल जेठ ३ गते नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र) मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टीलाई सर्वोच्च अदालतले बदर गरेपछि गौतमले २०७८ सालमा नेकपा एकता राष्ट्रिय अभियान चलाएका थिए ।
नेकपा एकताका लागि उनले कहिले एमालेका अध्यक्ष केपी ओली, कहिले माओवादीका अध्यक्ष प्रचण्ड त कहिले माधव नेपालसँग छलफल गरेका थिए । विभाजित पार्टीलाई एक ठाउँमा ल्याउने प्रयास असफल भएपछि गौतमले आफ्नै नेतृत्वमा पार्टी दर्ता गरे ।
एकता घोषणा सभामा उनलाई अध्यक्ष नेपालले दोसल्ला ओढाएर स्वागत गरे । चार वर्षपछिको एकतालाई दुई शीर्ष नेताले अँगालोमा निकैबेर कसिलोसँग बाँधेर एकता टुट्न नदिने सन्देश दिए । एकीकृत समाजवादीमा समाहित हुन पाउँदा निकै खुसी देखिएका गौतमले कम्युनिस्ट आन्दोलनको झण्डा आफूले चार वर्षको उमेरदेखि नै उचालेको र अझै झुक्न नदिने सङ्कल्प गरे । उनले आफ्नो पार्टी कार्यालय रहेको स्वयम्भू र एकीकृत समाजवादीको कार्यालयबिच भेट हुनका लागि चार वर्ष लागेको सुनाए ।
‘अहिले म ७७ वर्षको भएँ । सय वर्षसम्म बाँच्नुपर्छ जस्तो लाग्छ । सय वर्षसम्म कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउँछु’, उनले भने, ‘दुई वटा सङ्कल्प लिएर म कम्युनिस्ट आन्दोलनमा लागेँ । एउटा राजतन्त्रको अन्त्य अर्को कम्युनिस्ट पार्टीलाई एउटै बनाउने । त्यो २०७५ सालमा पुरा भयो । त्यतिबेला म ज्यादै खुसी थिएँ । तर नेकपा एकता धेरै दिन टिकेन । अझै हिम्मत हारेको छैन ।’
कम्युनिस्ट पार्टीभित्र सबैभन्दा ठुलो रोग व्यक्तिवादी, दक्षिणपन्थी अवसरवादी र जड सुत्रवादी चरित्र भएको टिप्पणी गरे । यस्ता चरित्रले व्यक्तिमा अहङ्कार बढ्ने भन्दै उनले त्यसले अन्ततः सत्तामा पुगेपछि राजनीतिक सङ्कट समाजवादी मोर्चामा आबद्ध दलहरूसँग पनि एकताका लागि पहल भइरहेको भन्दै नेपालले अन्य पार्टीसँग एकता हुनुअगाडि पार्टीलाई आन्तरिक रूपमा बलियो बनाउन भूमिका खेल्न आग्रह गरे । छिन्नभिन्न वामपन्थी ध्रुवीकरण गरी पार्टी निर्माण गर्न यो एकताले जबरजस्त सन्देश दिएको धारणा राखे ।२०७५ सालमा एमाले र माओवादी मिलेर कम्युनिस्ट आन्दोलन एकताबद्ध भएपनि दक्षिणपन्थी अवसरवाद हाबी भएका कारण मुलुकमा राजनीतिक सङ्कट गहिरिँदै गएको खनालले बताए ।
‘२०७५ सालमा नेकपा एकताबद्ध भयो । वामपन्थीले दुई तिहाइ मत प्राप्त गर्यो । तर वामपन्थी सरकारले क्रान्तिकारी भूमिसुधार, कृषि क्रान्ति, गरिबी निवारण बिर्सियो’, उनले भने, ‘देशको कम्युनिस्ट आन्दोलन भयावह रूपमा दक्षिणपन्थी अवसरवादमा परिणत भयो । नेकपा विघटनको दिनदेखि चौतर्फी राजनीतिक सङ्कटमा फसेको छ ।’
राष्ट्रिय राजनीतिमा ढुलमुले र अस्थिर नेताका रूपमा परिचित रहेका गौतम हक्की स्वभावका मानिन्छन् । तत्कालीन एमालेभित्र ५० को दशकसम्म प्रभावशाली नेताको छवि बनाएका गौतमलाई बोलीको खास ठेगान नभएको नेताका रूपमा चिन्नेहरू पनि कम छैनन् । गत वर्ष पुसमा एकीकृत समाजवादीसँग पार्टी एकता गर्ने सहमति गरेका उनले एक महिना बिचमा एमालेका अध्यक्ष ओलीसँग एकता गर्ने गरी हिमचिम बढाए ।
नाटकीय ढङ्गले दुई पार्टी बिचको एकता प्रक्रिया ढिलाइ भयो । तर एकताका लागि ओलीले कुनै चासो नदिएपछि गौतम फेरि एकीकृत समाजवादीका नेताहरूसँग संवादमा रहे । नेपाल र गौतमबिच निरन्तर छलफल पश्चात् असार २७ गते दुई पार्टीबिच एकता सहमतिमा हस्ताक्षर भयो । गौतमलाई एकीकृत समाजवादीको तेस्रो वरियताको वरिष्ठ नेता दिने सहमति भएको छ ।










