काठमाडौं ।।
प्रधानमन्त्री केपी शर्मा ओलीले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिरभित्र सम्पन्न हुने गरी योजनावद्ध, चुस्त र प्रभावकारी तयारी गर्न निर्देशन दिएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित उच्चस्तरीय छलफलमा उनले २०२६ मा जापानमा हुने एसियन गेम्सलाई ध्यानमा राख्दै राष्ट्रिय खेलकुद प्रतियोगितालाई राष्ट्रिय गौरवको विषयका रूपमा अघि बढाउनुपर्ने बताएका हुन्।
प्रधानमन्त्री ओलीले प्रतियोगिताको मिति र स्थान वैज्ञानिक ढंगले अध्ययन गरेर निर्धारण गर्न र एक पटक निर्णय भएपछि फेरबदल नगर्न आग्रह गरे। साथै, प्रतियोगिताको व्यवस्थापन, आयोजनास्थल र पूर्वाधार तयारीमा मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को प्रभावकारी समन्वय अनिवार्य रहेको पनि उनले प्रस्ट पारे।
प्रधानमन्त्री स्वयम परिषद्को संरक्षक रहेकाले मन्त्रालय र परिषद्को नेतृत्वलाई आपसी सहकार्यमा लाग्न सुझाव दिएका थिए।
उक्त छलफल कार्यक्रममा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, मन्त्रालयका सचिव डा हरिप्रसाद लम्साल, परिषद्का उपाध्यक्ष ध्रुव आचार्य, सदस्यसचिव टङ्कलाल घिसिङ, कार्यकारी सदस्य सुवर्ण श्रेष्ठलगायत सहभागी थिए ।













