श्रावण २१ गते, बुधबार
पोखरा ।। भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठनको मागलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले संसद् बैठकमा निरन्तर असहमति जनाउँदै आइरहेका छन् ।
उनीहरुले बुधबार(आज)को प्रतिनिधिसभा बैठकमा आफ्ना धारणा राख्दै पुनः बैठकबाट बाहिरिएका छन् ।
बैठकको सुरुमा रास्वपाका प्रवक्ता एवं सांसद मनीष झाले भिजिट भिसा र त्यससँग जोडिएका समस्याका विषयमा सरकारको उदासीनताप्रति प्रश्न उठाउँदै सरकारको जिम्मेवारीमाथि गम्भीर शंका व्यक्त गरे ।
त्यस्तै उनले कुलिङ पिरियडको प्रक्रियामा देखिएको अनियमितता र त्यसमा सभापति रामहरि खतिवडाको संलग्नता औंल्याउँदै नैतिकताका आधारमा उनको राजीनामा पनि मागे ।
‘राज्य, व्यवस्था तथा सुशासन समितिका सभापतिमाथि नैतिक प्रश्न उठ्दा पनि उनी पदमा यथावत् रहनु दुर्भाग्यपूर्ण हो,’ उनले भने, ‘अझ हामीमाथि नैतिकताको पाठ पढाइन्छ, तर यस्तो बेला कसले जवाफ दिने ?’
यस्तै बैठकमा राप्रपाका सांसद रोशन कार्कीले आन्दोलनरत सांसदको आवाज सुन्ने संवेदनशीलता नदेखिएको भन्दै सभामुखमाथि नै प्रश्न उठाए । उनले भनिन्, ‘हामी प्रश्न गरिरहेका छौं— सरकार संसद्प्रति उत्तरदायी हो कि संसद् सरकारप्रति ?’
दुबै सांसदले आ-आफ्नाे धारणा राखेपछि बैठक बहिष्कार गर्दै संसद् कक्षबाट बाहिरिएका थिए ।
भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समितिको माग राख्दै गत जेठ १३ गतेदेखि रास्वपा र राप्रपाले संसद्मा विरोध गर्दै आएको छ ।










