असोज ८, काठमाडौं ।।
भारतको नयाँ दिल्लीमा हुने विश्व पारा एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमकाबीच विदाई गरेका छन्।
घिसिङले बुधबार (आज) उनीहरुलाई उत्कृष्ट खेल प्रदर्शनको निम्ति शुभकामना दिँदै विदाई गरेका हुन् ।
सेप्टेम्बर २५ देखि अक्टोबर ५ तारिखसम्म हुने यस प्रतियोगितामा नेपालबाट दुई खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। जसमा प्रभा आङडेम्बे लङ जम्पमा र हिमालय अर्याल सुटपुटमा प्रतिस्पर्धा गर्नेछन्।
टोलीमा अफिसियलको रूपमा ओमनाथ सिवोकाटी र व्यवस्थापकका रूपमा साङबु भोटे रहेका छन्।
सो विदाई कार्यक्रममा बोल्दै सदस्य–सचिव घिसिङले अन्तर्राष्ट्रिय स्तरमा नेपालको उपस्थितिलाई गर्वको विषय ठहर गर्दै खेलाडीलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिए ।
उनले नेपालका अपांग खेलाडीले पनि निरन्तर अन्तर्राष्ट्रिय मञ्चमा क्षमता प्रदर्शन गर्दै आएको उल्लेख गर्दै यसपटकको सहभागिता थप प्रेरणादायी हुने विश्वास समेत व्यक्त गरे।













