असोज १९, काठमाडौं ।।
नेकपा माओवादी केन्द्रले हालैको विपद्पछिको अवस्थामाथि केन्द्रित हुने गरी सचिवालय बैठक बोलाएको छ। सोमबार(भोलि) दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा उक्त बैठक बस्दैछ।
महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रमुख स्वकीय सचिव गोविन्द्र आचार्यका अनुसार विषेशगरी बैठकमा देशभर भइरहेको बाढी, पहिरो र चट्याङबाट प्रभावित क्षेत्रको अवस्थाबारे समीक्षा गर्दै राहत र पुनर्निर्माणमा पार्टीको भूमिका तय गरिने जानकारी दिएका छन्।
यससँगै पार्टीको संगठनात्मक तयारी, महाधिवेशनको मिति तोक्ने विषय, प्रतिनिधि छनोटको प्रक्रिया लगायत आन्तरिक एजेन्डामाथि पनि छलफल हुने भएको छ।
हालै असोज ९ र १० गते काठमाडौंमा सम्पन्न केन्द्रीय समिति बैठकले केन्द्रीय समितिलाई विघटन गरी महाधिवेशन आयोजक समिति गठन गरेको थियो।
सो निर्णयसँगै आगामी मंसिरको अन्तिम साताभित्र विशेष महाधिवेशन गर्ने लक्ष्य तय गरिएको थियो। भोलिको सचिवालय बैठकले त्यस मितिलाई औपचारिकता दिने र तयारीको खाका तयार गर्ने अपेक्षा गरिएको छ।
पार्टीका एक नेताका अनुसार भोलिको बैठक केवल विपद् मूल्याङ्कनका लागि मात्र नभई माओवादीको आगामी यात्राको दिशानिर्देशन गर्ने मोडको बैठक हुने बताएका छन्।










