असोज २८, काठमाडौं ।।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उप-सभापति पूर्णबहादुर खड्कालाई पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन्।
मंगलबार (आज)सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा सभापति देउवाले विधानअनुसार खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पिएको घोषणा गरेको हो।
सह–महामन्त्री महालक्ष्मी उपाध्याय डिनाका अनुसार यो निर्णय पार्टीको विधानमा रहेको व्यवस्था अनुसार गरिएको जानकारी दिएकी छन्।
उनका अनुसार सभापति देउवाले पार्टीलाई सहज र प्रभावकारी रूपमा सञ्चालन गर्न उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको बताइन् ।
कार्यवाहक सभापतिको हैसियतमा अब खड्काले पार्टीका आगामी बैठक, निर्णय र प्रशासनिक कार्यहरू सम्हाल्नेछन्।
यसैबीच आजको बैठकमा सभापति देउवाले समसामयिक राजनीतिक विषयमा सम्बोधन गरेका थिए।
बैठकमा उनले आन्तरिक एकता, आन्दोलन तयारी र प्रदेश स्तरका संगठन सुदृढीकरणबारे निर्देशन दिएका थिए।
सभापति देउवाको सम्बोधनपछि बैठक असोज ३० गते (बिहीबार) दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको सहमहामन्त्री उपाध्यायले बताइन्।
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले हालका राजनीतिक परिस्थिति, सरकारप्रतिको धारणा र पार्टीको आगामी रणनीतिबारे छलफल जारी राख्ने बताइएको छ।










