कात्तिक २० मा सात वाम शक्तिको एकता घोषणा, नयाँ पार्टीको नाम ‘नेकपा समाजवादी’
  • प्रमुख खबर

कार्तिक १६, काठमाडौं ।।
नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सहितका सात वाम शक्तिबीचको पार्टी एकता घोषणा यही कात्तिक २० गते हुने भएको छ।

सो दिन काठमाडौंमा एक विशेष कार्यक्रमको आयोजना गरी पार्टी एकता घोषणा भव्य रूपमा हुने भएको माओवादी केन्द्रले जनाएको हो।

आइतबार(आज) बिहान बसेको माओवादी केन्द्रको सचिवालय बैठकले उक्त मितिमा एकता घोषणा गर्ने निर्णय गरेको नेता अग्नि सापकोटाले जानकारी दिएका छन्।

सापकोटाका अनुसार माओवादी केन्द्र, माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी), महिन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, नेकपाबाट अलग भएका चिरन पुन समूह, प्रेमबहादुर सिंह समूह, राजु कार्की नेतृत्वको नेकपा समाजवादी र सुभाषराज काफ्ले नेतृत्वको जनसमाजवादी पार्टीबीच एकता हुने सहमति भएको छ।

एकतापछि नयाँ पार्टीको नाम ‘नेकपा समाजवादी’ रहने र राजनीतिक सिद्धान्तमा ‘माओवाद’ हटाएर ‘मार्क्सवाद–लेनिनवाद’ मात्र राख्ने निर्णय गरिएको सापकोटाले बताए।

नयाँ एकीकृत पार्टीको संयोजकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहने सहमति गरिएको छ। तर एकता प्रक्रियाले दुवै दलभित्र असन्तुष्टि पनि देखिएको छ।

माओवादी केन्द्रका नेता जनार्दन शर्माले लिखित रूपमा फरक मत राखेका छन् भने एकीकृत समाजवादीका नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले छुट्टै भेला आयोजना गरेका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्