पश्चिमी वायू सक्रिय: आजदेखि देशभर पुनः मौसम बदलीको सम्भावना
  • प्रमुख खबर

कार्तिक १८, काठमाडौं ।।
देशभर पुनः मौसम बदली हुने संकेत देखिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायूको प्रभाव मंगलबार(आज)देखि सक्रिय हुने भएकाले देशका धेरै स्थानमा आंशिकदेखि पूर्ण बदली हुने सम्भावना छ।

विषेशगरी आज र भोलि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

त्यस्तै लुम्बिनी र सुदूरपश्चिमका तराई भू–भागका एक–दुई स्थानमा समेत हल्का वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार यसपटकको प्रणाली कमजोर भएकाले अघिल्ला दिनजस्तै ठूलो पानी पर्ने सम्भावना भने कम छ। तर मौसममा आएको यो परिवर्तनले कृषि, पर्यटन र पर्वतारोहणसँगै जनस्वास्थ्यमा पनि असर गर्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन र समय–समयमा मौसमी सूचना लिन सुझाव दिइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्