कार्तिक १९, काठमाडौं ।।
लामो समयदेखि चल्दै आएको वाम एकताको प्रयास अन्ततः निष्कर्षमा पुगेको छ।
नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सहित अन्य नौ वामपन्थी दलहरू बुधबार(आज) औपचारिक रूपमा एकीकृत हुने भएका छन्।
माओवादी केन्द्रका वरिष्ठ नेता अग्नि सापकोटाका अनुसार एकता घोषणा कार्यक्रम काठमाडौँको भृकुटीमण्डपमा दिउँसो १ बजे हुनेछ।
यसअघि नै सम्बन्धित दलहरूले सहमति पत्रमा हस्ताक्षर गरिसकेका छन्। नयाँ एकीकृत पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ राख्ने र चुनाव चिन्ह ‘पाँच कुने तारा’ रहने सहमति भएको बताइएको छ।
हिजो मात्र माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिले एकता प्रस्ताव पारित गरेको थियो। तर पार्टीभित्र सबैले एकता समर्थन गरेका छैनन्।
माओवादीका नेता जनार्दन शर्मा समूहले यो प्रक्रियाको विरोध गर्दै छुट्टै अभियान सञ्चालन गर्ने घोषणा गरिसकेको छ।
यस्तै एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल पनि एकता कार्यक्रममा सहभागी नहुने भएका छन्।
माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने एकता प्रक्रियालाई अझ व्यापक बनाउने उद्देश्यले एमालेका पूर्वउपाध्यक्ष डा. भीम रावलसहित अन्य असन्तुष्ट नेताहरूसँग पनि छलफल भइरहेको बताएका छन्।
यससँगै नेपाली वाम राजनीतिमा नयाँ संरचनाको सुरुवात हुने आँकलन गरिएको छ।










