कार्तिक २४, काठमाडौं ।।
लामो समयदेखि आन्तरिक समन्वय र विचार–विमर्शमा रहेको भीम रावल नेतृत्वको अभियान अब औपचारिक रूपमा नवगठित नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएको छ।
आइतबार साँझ पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालसहितका शीर्ष नेताहरूसँगको निर्णायक भेटपछि रावल समूहको समावेशीकरणको प्रक्रिया टुंगिएको हो।
नवगठित एकीकृत पार्टीका नेता प्रकाश ज्वालाका अनुसार समायोजनका लागि विशेष ‘बृहत् पार्टी समायोजन कार्यक्रम’ आगामी बुधबार (कात्तिक २६ गते) आयोजना गरिने भएको छ।
कार्यक्रममा रावल समूहका शीर्ष नेता, प्रचण्ड र नेपाल निकट नेताहरूका साथै विभिन्न प्रदेशस्तरीय संयोजकहरूको उपस्थिति रहनेछ। उक्त समारोहबाट रावल समूह औपचारिक रूपमा पार्टी संरचनाभित्र प्रवेश गर्नेछ।
स्रोतका अनुसार रावल समूहको समायोजनसँगै पार्टीभित्र संगठनिक पुनर्संरचना र नेतृत्व भूमिकाको पुनर्वितरण पनि हुने तयारी छ।










