कार्तिक २७, काठमाडौं ।।
देशभरको मौसम हाल स्थिर रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल कुनै उल्लेखनीय मौसमी प्रणाली सक्रिय छैन।
तर कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रहरूमा आंशिक बदली देखिएको छ भने बाँकी अधिकांश भूभागमा आकाश सफा छ।
महाशाखाका अनुसार बिहीबार(आज) दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका केही पहाडी भागमा हल्का बादल छाउने अनुमान गरिएको छ। तर देशका अन्य स्थानमा मौसम मुख्यतया खुला रहनेछ।
आज राति पनि कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रहने र बाँकी क्षेत्रमा मौसम सफैँ रहने पूर्वानुमान गरिएको छ। समग्रमा आज देशभर सामान्यतया स्थिर र सफा मौसम रहने महाशाखाको मूल्यांकन छ।












