मंसिर १९, काठमाडौं ।।
प्रतिनिधिसभा सदस्य चुनावमा सहभागी हुन निर्वाचन आयोगले दिएको दल दर्ता गर्ने बुधबार(आज) अन्तिम दिन रहेको छ।
आयोगले मंसिर १ गतेदेखि १० गतेसम्म दल दर्ताको समय तोकेको थियो। यही अवधिभित्र हिजोसम्म ८० वटा दल दर्ता भइसकेका छन्।
पुरानो राजनीतिक शक्तिको रूपमा रहेको नेकपा एमालेले पनि हिजो मात्र चुनाव प्रयोजनका लागि दल दर्ता गराएको थियो।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार कांग्रेस, एमालेसहित थुप्रै पुराना र नयाँ दलहरू चुनावी प्रतिस्पर्धामा उत्रन तयार भएका छन्। यी सबै गरेर अहिलेसम्म ८० दल पुगेको हो ।
आयोगमा दर्ता भएका यी दलहरूले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावमा भाग लिन पाउनेछन्।










