मंसिर १४, काठमाडौं ।।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशाला आइतबार(आज) फेरि एकपटक तातिँदैछ। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज दिउँसो साढे ३ बजेदेखि हुने काठमाडौं गोर्खाज र कर्णाली याक्सबीचको खेलले रंगशाला तातिने भएको हो ।
दुवै टोलीका लागि यो खेल निकै महत्वपूर्ण हुनेछ । ५ खेल खेलेको काठमाडौं ३ जीत र २ हारसहित ६ अंक जोडेर तालिकाको तेस्रो स्थानमा छ भने कर्णाली ४ खेलमा १ जीत र ३ हारसहित २ अंकका साथ छैटौं स्थानमा छ।
आजको खेलले कर्णालीका लागि प्ले–अफ सपना जिवित राख्ने कि समाप्त गर्ने निर्णय गर्नेछ। यस्तै हिजोको खेल एनपीएल इतिहासमै सम्झन योग्य बन्न पुगेको थियो।
लगातार पाँचौं जीत निकाल्दै सुदूरपश्चिम रोयल्सले प्ले–अफमा स्थान पक्का गरिसकेको छ। साविक विजेता जनकपुर बोल्ट्सलाई ६ विकेटले पराजित गर्दै सुदूरपश्चिम यो सिजन प्ले–अफ पुग्ने पहिलो टोली बनेको हो।
उता, एक समयको च्याम्पियन जनकपुर भने अहिले गहिरो संकटमा छ। अहिलेसम्म एक खेल पनि जित्न नसकेको जनकपुर अंकतालिकाको पुछारमा अल्झिएको छ ।
जनकपुरको लगातार हारले उसका समर्थकहरू यतिबेला चिन्तित बनेका छन्। हिजोको दोस्रो खेलमा लुम्बिनी लायन्सले पोखरा एभेञ्जर्सलाई २ विकेटले हराउँदै प्ले–अफ दौडलाई थप बलियो बनाएको छ।
पोखरा एभेञ्जर्सको कमजोर खेल प्रदर्शनीले यतिबेला पोखरेली समर्थकहरू पनि निरास बनेको छ ।
तर हिजोको प्रदर्शनले लुम्बिनीको समर्थकहरू खुशी भएका छन् । यो जितसँगै लुम्बिनी ५ खेलमा ४ अंकसहित तालिकाको पाँचौं स्थानमा उक्लिएको छ र उसका लागि प्ले–अफ सम्भावना अझै जीवित छ।










