मंसिर १४, काठमाडौं ।।
नेकपा (एमाले) ले आफ्नो ११औँ राष्ट्रिय महाधिवेशनको आधिकारिक प्रतीक चिन्ह (लोगो) आइतबार(आज) अनावरण गरेको छ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक विशेष कार्यक्रमकाबीच अध्यक्ष केपी शर्मा ओलीले लोगोको औपचारिक अनावरण गरेका हुन्।
अनावरण गरिएको लोगोमा राष्ट्रिय गौरवको प्रतीक धरहरा, राष्ट्रिय झण्डा तथा सूर्यभित्र समेटिएको हँसिया–हथौडालाई समावेश गरिएको छ।
पार्टी सचिव पद्मा अर्यालका अनुसार लोगोमार्फत एमालेको ऐतिहासिक यात्रा, नेतृत्व क्षमता, राजनीतिक सङ्कल्प र परिवर्तनप्रतिको उत्साहलाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।
यस अवसरमा महाधिवेशनको मूल नारा “निर्णायक राष्ट्रिय शक्ति हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य” तय गरिएको छ।
यो नाराले एमालेको राजनीतिक प्रतिबद्धता र राष्ट्रिय विकासप्रतिको दीर्घकालीन लक्ष्यलाई स्पष्ट रूपमा उजागर गरेको अर्यालले जानकारी दिएकी छन्।
महाधिवेशनलाई केन्द्रमा राख्दै एमाले प्रचार विभागले आइतबार साँझदेखि विशेष प्रकाशन ‘सूर्य खबर’ प्रकाशन गर्ने घोषणा पनि गरेको छ ।
उक्त खबर पुस्तिकाले महाधिवेशन सम्बन्धी गतिविधि, विचार र निर्णयहरूलाई जनतासम्म पुर्याउने विश्वास गरिएको छ।
पार्टीले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको छनोट प्रक्रिया शनिबार नै सम्पन्न गरिसकेको छ भने महाधिवेशन तयारीलाई तीव्र बनाइएको जनाएको छ।
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन मंसिर २७ गते भक्तपुरको सल्लाघारीमा भव्य उद्घाटन हुने तय भएको छ। त्यसपछि बन्द सत्र भने काठमाडौँको भृकुटीमण्डपमा सञ्चालन हुनेछ।










