वैकल्पिक राजनीतिको नयाँ अध्याय: रास्वपा र विवेकशीलबीच भयो आज ऐतिहासिक एकता
  • प्रमुख खबर

Oplus_131072

मंसिर १४, काठमाडौं ।।
वैकल्पिक राजनीतिको झण्डा बोकेका दुई शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टी अन्ततः एउटै धारमा मिसिएर अघि बढ्ने भएका छन्।

आइतबार(आज) काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित भव्य समारोहबीच दुवै दलले औपचारिक रूपमा पार्टी एकताको घोषणा गरेका हुन् ।

दुई पार्टीबीचको एकतापछि पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी नै राखिएको छ भने चुनाव चिह्न पनि ‘घण्टी’ नै कायम रहने भएको छ।

यो निर्णयसँगै दुवै दलका शीर्ष नेताहरूले ५ बुँदे एकता घोषणा-पत्रमा हस्ताक्षर गर्दै नयाँ राजनीतिक यात्राको थालनी गरेका छन्।

रास्वपाको तर्फबाट कार्यवाहक सभापति डोलप्रसाद अर्याल र उपसभापति एवं उच्च संवाद समितिका संयोजक डा. स्वर्णिम वाग्लेले हस्ताक्षर गरेका छन् ।

यस्तै विवेकशील साझाका तर्फबाट अध्यक्ष समीक्षा बास्कोटा र उपाध्यक्ष तथा राजनीतिक संवाद समितिका संयोजक प्रकाशचन्द्र परियारले हस्ताक्षर गरेका छन् ।

त्यस्तै विवेकशील साझाले रास्वपाको राजनीतिक सिद्धान्त र नेतृत्वलाई निःशर्त स्वीकार गरेको सहमति-पत्रमा उल्लेख छ।

उक्त सहमति अनुसार नेपालमा वैकल्पिक राजनीतिका अभियन्ता स्वर्गीय उज्ज्वल थापा र उनले अघि सारेको विवेकशील अभियानको योगदानलाई दस्तावेजीकरण गरी औपचारिक मान्यता दिने निर्णय पनि गरिएको छ।

योसँगै रास्वपाको आगामी पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनसम्मका लागि ‘संघीय नेतृत्व मञ्च’ नामक विशेष संयन्त्र निर्माण गरिने जनाएको छ।

वार्ता समितिका उप-संयोजक शिशिर खनालका अनुसार विवेकशील साझाबाट आउने नेताहरूलाई आपसी समझदारीका आधारमा उक्त मञ्चमा मनोनीत गरिनेछ।
मञ्चका सदस्यहरूको मर्यादाक्रम केन्द्रीय सदस्य सरह रहनेछ।

विवेकशील साझाका सदस्य र सल्लाहकारहरूलाई केन्द्रीय, प्रादेशिक तथा स्थानीय संरचनामा समायोजन गर्दा योग्यता, समावेशीताको सिद्धान्त र सार्वजनिक छविलाई आधार बनाइने सहमति-पत्रमा उल्लेख छ।

विषेशगरी दुवै दलका नेताहरूले यो एकताले वैकल्पिक राजनीति, पारदर्शिता र सुशासनको अभियानलाई नयाँ ऊर्जा दिने विश्वास व्यक्त गरेका छन्।

उनीहरूका अनुसार अहिलेको राजनीतिक समयले बलियो, इमानदार र जनमुखी विकल्पको माग गरिरहेको र यही आवश्यकता पूरा गर्न यो एकता ऐतिहासिक हुने दाबी समेत गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्