फागुन २१ को चुनाव रोचक बन्दै, १२० राजनीतिक दल चुनावी मैदानमा
  • प्रमुख खबर

Oplus_131072

मंसिर १५, काठमाडौं ।।
आउँदो फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै देशभर राजनीतिक गतिविधि तीव्र बनेको छ।

यही क्रममा निर्वाचनमा भाग लिन इच्छुक एक सय २० वटा राजनीतिक दलले निर्वाचन आयोगमा औपचारिक निवेदन दर्ता गराएका छन्।

निर्वाचन आयोगका अनुसार मंसिर १ गतेदेखि हिजो मंसिर १४ गतेसम्म तोकिएको अवधिमा दल दर्ता तथा एकल निर्वाचन चिन्ह प्रयोगका लागि यी निवेदन प्राप्त भएका हुन्।

यस अवधिमा प्राप्त निवेदनहरूले आगामी निर्वाचनको प्रतिस्पर्धा थप रोचक र बहुआयामिक बन्ने संकेत गरेको छ।

आयोगले अब ती सबै निवेदनहरूको कानुनी, प्राविधिक तथा प्रक्रिया अनुसार आवश्यक जाँचबुझ र छानबिन गर्ने तयारी गरेको जनाएको छ।

दलहरूको विधान, संगठनात्मक संरचना, आर्थिक विवरण तथा कानुनी योग्यता परीक्षण गरी मापदण्ड पूरा गरेका दलहरूलाई मात्र दर्ता स्वीकृति दिइने आयोगको स्पष्ट भनाइ छ।

मंसिर २० गतेभित्र योग्यता पुगेका राजनीतिक दललाई औपचारिक रूपमा दर्ता स्वीकृति प्रदान गरिने कार्यतालिका तय गरिएको आयोगले जानकारी दिएको छ। त्यसपछि ती दलहरूलाई निर्वाचन चिन्ह वितरण, उम्मेदवार छनोटलगायतका प्रक्रिया अघि बढाइनेछ।

निर्वाचन आयोगले दल दर्ता व्यवस्थापन, चुनाव चिन्ह वितरण र समग्र निर्वाचन प्रक्रिया पूर्ण रूपमा कानुनबमोजिम निष्पक्ष र पारदर्शी ढंगले अघि बढाइने प्रतिवद्धता व्यक्त गरेको छ।

एकै पटक यति धेरै दलहरूको सहभागिताका लागि निवेदन पर्नुले आगामी प्रतिनिधिसभा निर्वाचन बहुपक्षीय प्रतिस्पर्धायुक्त, चासोयुक्त र राजनीतिक रूपमा अत्यन्तै महत्त्वपूर्ण हुने संकेत गरेको विश्लेषकहरूले बताएका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्