मंसिर २२, काठमाडौं ।।
आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा राजनीतिक प्रतिस्पर्धा थप रोचक बन्ने देखिएको छ।
निर्वाचन आयोगले चुनावमा भाग लिन स्वीकृति दिएका १ सय १४ वटा राजनीतिक दललाई औपचारिक रूपमा चुनाव चिह्न प्रदान गरेसँगै यसपटकको निर्वाचन थप प्रतिस्पर्धात्मक बन्ने भएको हो ।
आयोगका अनुसार आगामी निर्वाचनका लागि १ सय २० दलले चुनावमा भाग लिन निवेदन दिएका थिए ।
तीमध्ये १३ वटा दलको निवेदन खारेज भएपछि १ सय ७ वटा चुनाव चिह्न वितरण गरिएको हो।
यस्तै १ सय २ वटा दल एक्लाएक्लै चुनावी प्रतिस्पर्धामा उत्रिने छन् भने १२ वटा दल विभिन्न गठबन्धन बनाएर ५ वटा साझा चुनाव चिह्नमार्फत चुनाव लड्नेछन्। यसरी कुल १ सय ७ वटा फरक–फरक चुनाव चिह्न प्रयोगमा आउनेछन्।
निर्वाचन आयोगले सार्वजनिक गरेको सूचीअनुसार पहिलो नम्बरमा ‘सूर्य’, दोस्रोमा ‘रुख’, तेस्रोमा ‘तारा’, चौथोमा ‘घण्टी’लगायत चर्चित र पुराना चुनाव चिह्नहरू यसपटक पनि चुनावी मैदानमा देखिनेछन्।
विषेशगरी यसपटक ठूलो संख्यामा दलहरू चुनावी दौडमा होमिँदा मतदाता सामु विकल्प धेरै भएका छन्।
गठबन्धन र एक्ला प्रतिस्पर्धाको मिश्रित समीकरणले यो निर्वाचनलाई अझै बढी प्रतिस्पर्धात्मक र पेचिलो बनाउने विश्लेषण गरिएको छ।









