माघ २१, पोखरा ।।
पोखरामा जारी १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा भारतले भुटानलाई ८–० को फराकिलो गोल अन्तरले पराजित गरेको छ।
- बुधबार(आज)पोखरा रङ्गशालास्थित अन्तरराष्ट्रिय फुटबल मैदानमा भएको खेलमा भारतीय टोली सुरुदेखि नै आक्रामक देखिएको थियो र भुटानमाथि पूर्ण दबाब कायम राख्दै गोलको वर्षा गर्यो।

खेल सुरु भएको केही मिनेटमै भारतले आक्रामक लय समात्दै पहिलो गोल गरेको थियो । भारतको लागि पहिलो गोल पर्ल फर्नान्डेजले ६ मिनेटमा गरेकी थिइन् ।
पहिलो गोललगत्तै भारतले भुटानीको डिफेन्सलाई लगातार दबाबमा राख्दै पहिलो हाफमै थप ६ गोल गर्न सफल भयो।
पहिलो हाफ सकिँदासम्म भारतले ७–० गोले गरिसकेको थियो । आजको खेलमा भारतकी पर्ल फर्नान्डेज खेलकी नायिका बनिन्। उनले ६औँ, ३९औँ र ४१औँ मिनेटमा गोल गर्दै शानदार ह्याट्रिक पूरा गरिन्।
यस्तै भारतको लागि प्रतिका बर्मनले २५औँ मिनेटमा गोल गर्दै आफ्नो टिमलाई अग्रता दील्याइन् भने इन्जुरी समयमा पुनः गोल गर्दै व्यक्तिगत दुई गोल पूरा गरिन्।
त्यस्तै एलिशा लिङदोज, एविस्था र दिव्यानी लिन्डाले पनि समान एक–एक गोल थप्दै टीमलाई मजबुत बनाए ।
यता दोस्रो हाफमा भुटानले केही प्रतिरोध गर्ने प्रयास गरे पनि भारतीय आक्रमण रोक्न सकेन।
खेलको अन्तिम मिनेटतिर भारतले अर्को गोल थप्दै ८–० को प्रभावशाली जित सुनिश्चित गर्यो। यो जितसँगै भारतले फाइनल प्रवेशको सम्भावना निकै बलियो बनाएको छ।
दुई खेलबाट लगातार जित निकालेको भारत र बङ्गलादेशको समान ६–६ अङ्क छ । नेपाली टोली भने तीन अङ्कसहित तेस्रो स्थानमा छ।













