एक सय खर्ब रुपैयाँको अर्थतन्त्र बनाउने रोडम्यापसहित रास्वपाको बाचापत्र सार्वजनिक
  • प्रमुख खबर

Oplus_131072

फागुन ७, सुर्खेत ।।
आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चुनावी बाचापत्र सार्वजनिक गरेको छ ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बिहीबार(आज) आयोजित विशेष कार्यक्रमका बीच पार्टीले ‘नीतिगत प्रस्थानका १०० आधार’ सहितको चुनावी बाचापत्र सार्वजनिक गर्दै आर्थिक रूपान्तरणको स्पष्ट खाका अघि सारेको हो।

पार्टीको उक्त बाचापत्रमा नेपालको अर्थतन्त्रलाई ५ देखि ७ वर्षभित्र एक सय अर्ब अमेरिकी डलरको आकारमा पुर्‍याउने महत्वाकांक्षी लक्ष्य राखेको छ।

बाचापत्र सार्वजनिक गर्दै रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले नेपाललाई निम्न आय भएको मुलुकबाट सम्मानजनक मध्यम आय भएको राष्ट्रमा रूपान्तरण गर्ने लक्ष्य प्रस्तुत गरेका छन्।

उनले भने, “अबको पाँच वर्षभित्र नेपालको अर्थतन्त्रलाई १०० खर्ब रुपैयाँभन्दा माथि पुर्‍याउनेछौं। यो केवल लक्ष्य होइन, योजनाबद्ध कार्यान्वयनको प्रतिवद्धता हो।”

देशको अर्थतन्त्रलाई तीव्र गतिमा अघि बढाउन वार्षिक कम्तीमा ७ प्रतिशत आर्थिक वृद्धि दर हासिल गर्ने योजना रास्वपाले अघि सारेको छ।

यस्तै ५ देखि ७ वर्षभित्र नेपाली नागरिकको प्रतिव्यक्ति आय ३ हजार अमेरिकी डलर (करिब ४ लाख रुपैयाँ) पुर्‍याउने दाबी गरिएको छ।

पार्टीले यो लक्ष्य प्राप्त गर्न संरचनात्मक सुधार, लगानीमैत्री वातावरण र सुशासनलाई केन्द्रमा राख्ने जनाएको छ।

कार्यक्रममा पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाह र उपसभापति वाग्ले सहितका शीर्ष नेताहरूको उपस्थितिमा संयुक्त रूपमा बाचापत्र सार्वजनिक गरिएको हो।

कार्यक्रममा पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाह र उपसभापति वाग्ले सहितका शीर्ष नेताहरूको उपस्थितिमा संयुक्त रूपमा बाचापत्र सार्वजनिक गरिएको हो।

नेताहरूले आगामी सरकारको प्राथमिकता र बजेटको प्रारम्भिक खाकासमेत प्रस्तुत गर्दै आर्थिक र प्रशासनिक सुधारलाई ‘मिसन मोड’ मा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए।

यससँगै रास्वपाले सरकारी सेवामा नागरिकले झन्झट बेहोर्नु नपर्ने गरी ‘लाइन होइन, अनलाइन’ को अवधारणा लागू गर्ने घोषणा गरेको छ।

सेवा प्रवाहलाई पूर्ण रूपमा डिजिटल र पारदर्शी बनाउने, भ्रष्टाचार नियन्त्रण गर्ने र नागरिकमैत्री प्रशासन निर्माण गर्ने पार्टीको लक्ष्य रहेको छ।

न्याय क्षेत्रको सुधारका लागि योग्यताको आधारमा नियुक्ति गर्ने मेरिटोक्रेसी प्रणाली स्थापना गर्ने, राज्य संयन्त्रलाई दलीय प्रभावबाट मुक्त गर्ने र राजनीतिक हस्तक्षेप अन्त्य गर्ने प्रतिबद्धता पनि बाचापत्रमा समेटिएको छ।

पार्टीले आज सार्वजनिक गरेको बाचापत्रमा निजी क्षेत्रलाई आर्थिक विकासको प्रमुख साझेदारका रूपमा लिँदै लगानीमैत्री वातावरण सिर्जना गर्ने योजना अघि सारेको छ।

लगानीमा बाधा पुर्‍याउने दर्जनौं ऐन, नियम र प्रक्रियालाई एकैपटक खारेज वा सुधार गर्ने घोषणा रास्वपाले गरेको छ।

यसअघि सार्वजनिक गरिएको ‘करार पत्र’ मा पनि राजनीतिक भागबन्डाका आधारमा हुने नियुक्ति अन्त्य गर्ने र राज्य संयन्त्रलाई पेशागत र निष्पक्ष बनाउने विषय उल्लेख गरिएको थियो।

योसँगै विसं २०४६ यताका उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न विशेष उच्च आयोग गठन गर्ने विषयलाई पनि प्राथमिकतामा राखिएको छ।

विषेशगरी रास्वपाले साना–साना सुधारले मात्र देशको अवस्था नबदलिने भन्दै दीर्घकालीन रूपान्तरणका लागि पाँच वर्षको स्थिर सरकार अनिवार्य हुने स्पष्ट पारेको छ।

राजनीतिक अस्थिरता अन्त्य गर्न स्पष्ट बहुमत आवश्यक रहेको उल्लेख गर्दै नेताहरूले स्थिर सरकार बनेमा मात्र देशलाई सही दिशामा अघि बढाउन सकिने तर्क समेत गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्