फागुन ७, काठमाडौं ।।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।
बिहीबार(आज) उक्त घोषणापत्र सार्वजनिक कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले यो निर्वाचन सामान्य प्रक्रिया नभई “देश बनाउने र भत्काउने बीचको जनमत संग्रह” भएको बताएका छन्।
“समृद्ध नेपाल, सुखी नेपालीः राष्ट्रिय आकांक्षा हाम्रो गन्तव्य” नारासहित एमालेले सुशासन, विकास, रोजगारी र सामाजिक न्यायलाई प्राथमिकतामा राखेको छ।
घोषणापत्रमा तत्काल गर्ने ११ काम, ५ आधारभूत घोषणा र समृद्धिका २५ संकल्प समेटिएका छन्। युवालाई लक्षित गर्दै एमालेले १८ देखि २८ वर्षसम्मका युवालाई एक वर्षसम्म प्रत्येक महिना १० जिबी निःशुल्क इन्टरनेट उपलब्ध गराउने घोषणा गरेको छ।
यस्तै युवा उद्यमीलाई १० हजार अमेरिकी डलर बराबरको डलर कार्ड सुविधा, प्राविधिक उच्च शिक्षाका लागि २० लाख रुपैयाँसम्म निर्व्याजी ऋण र न्यूनतम पारिश्रमिकसहितको इन्टर्नसिपको व्यवस्था गर्ने योजना अघि सारेको छ।
एमालेले आफ्नो घोषणापत्रमा श्रमिकका लागि न्यूनतम मासिक पारिश्रमिक २५ हजार रुपैयाँ पुर्याउने, वैदेशिक रोजगारीमा रहेका श्रमिकको खातामा वार्षिक ५ हजार रुपैयाँ बोनस जम्मा गर्ने र सबै श्रमिकलाई सामाजिक सुरक्षा प्रणालीमा समेट्ने प्रतिबद्धता समेत जनाएको छ।
महिला सशक्तीकरणअन्तर्गत महिला उद्यमीलाई २० लाख रुपैयाँसम्म निर्व्याजी ऋण, गर्भवती महिलाका लागि ५ लाख रुपैयाँसम्मको निःशुल्क जीवन बीमा, किशोरीलाई निःशुल्क प्याड र विद्यार्थीलाई कक्षा १० सम्म दिवा खाजाको व्यवस्था गर्ने योजना समावेश गरिएको छ।
यसैगरी विपन्न परिवारको २५ हजार रुपैयाँसम्मको ऋण मिनाहा गर्ने, वैदेशिक रोजगारीबाट रेमिट्यान्स पठाउने श्रमिकलाई सम्मानसहित सामाजिक सुरक्षामा आबद्ध गर्ने तथा आन्दोलनका क्रममा क्षति पुगेका राज्यका संरचनाको निश्चित समयभित्र पुनर्निर्माण गर्ने प्रतिबद्धता पनि एमालेले जनाएको छ।










