फागुन १५, पोखरा ।।
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ लाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण तथा भयरहित वातावरणमा सम्पन्न गर्न कास्की जिल्लाभर शुक्रबार राती १२ बजेदेखि अन्तिम मतपरिणाम सार्वजनिक नहुञ्जेलसम्म मदिराजन्य पदार्थको बिक्री–वितरण, ओसारपसार तथा सेवनमा पूर्ण रोक लगाइएको छ।
जिल्ला प्रशासन कार्यालय कास्कीले जारी गरेको जरूरी सूचनाअनुसार निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका–२०७८, निर्वाचन आयोग, नेपालको मिति २०८२÷११÷१३ को प्रेस विज्ञप्ति तथा जिल्ला सुरक्षा समितिको निर्णय बमोजिम उक्त निषेधाज्ञा लागू गरिएको प्रशासनले जनाएको छ । प्रशासनले होटल व्यवसायी, मदिरा व्यवसायी, राजनीतिक दल, उम्मेदवार, प्रतिनिधि तथा आम सर्वसाधारणलाई सूचनाको पूर्ण पालना गर्न आग्रह गरेको छ।

निर्वाचन अवधिभर सार्वजनिक शान्ति सुरक्षा तथा सामाजिक सद्भाव कायम राख्न सबै पक्षको सहयोग आवश्यक रहेको प्रशासनले जनाएको छ । साथै, सूचनाको प्रभावकारी कार्यान्वयनका लागि सुरक्षा निकायबाट सूक्ष्म अनुगमन तथा निगरानी गरिने जनाउँदै आदेशको अवज्ञा वा उल्लङ्घन गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी समेत दिइएको छ। निर्वाचन सम्पन्न भई अन्तिम परिणाम घोषणा नभएसम्म प्रतिबन्ध कायम रहने कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चिताङगत बरालले स्पष्ट पारे ।












