देशभर मौसममा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
  • प्रमुख खबर

वैशाख ४,काठमाडौँ।।

हाल पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभावका कारण देशका अधिकांश भागमा मौसम आंशिक बदली देखिएको छ। हिमाली क्षेत्रहरूमा सामान्य बदली कायम रहँदा पहाडी भेगमा आंशिक बदली र तराई क्षेत्रमा भने मुख्यतया सफा मौसम रहेको छ।

कोशी प्रदेशका केही पहाडी स्थानहरूमा हल्का वर्षा तथा हिमपात भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना छ। त्यसैगरी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा पनि यस्तै मौसमीय गतिविधि देखिन सक्छ।

आज राति पनि देशका हिमाली भेगका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ। अन्य प्रदेशका पहाडी भाग तथा कोशी प्रदेशको तराई क्षेत्रमा भने आंशिक बदली रहने अनुमान गरिएको छ।

यता देशका अधिकांश स्थानमा तापक्रम क्रमशः बढ्दो क्रममा रहेको छ। विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा अन्य प्रदेशको तुलनामा बढी गर्मी महसुस हुन सक्ने मौसमविद्हरूले बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्