मौसम:मेघगर्जनसहित वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना
  • प्रमुख खबर

जेष्ठ १,काठमाडौँ।।

हाल देशमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपाल आसपास रहेको तल्लो वायुमण्डलीय न्यून चापीय क्षेत्रको संयुक्त प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यसको प्रभावस्वरूप अहिले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि मध्यम बदली रहेको छ भने बाँकी क्षेत्रहरूमा आंशिक बदली देखिएको छ। बागमती र गण्डकीका केही स्थानका साथै कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशसहित देशका हिमाली र पहाडी भूभागमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ। यी प्रदेशका केही स्थानहरूमा तथा अन्य हिमाली–पहाडी क्षेत्रमा थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै उच्च हिमाली क्षेत्रमा हल्का हिमपात पनि हुनसक्ने अनुमान गरिएको छ।

आज राति पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा बदली कायमै रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी र मधेससहित बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

मौसमविद्हरूले वर्षा, चट्याङ र हिमपातका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्