जेष्ठ १,काठमाडौँ।।
श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को राजीनामा माग गरेका छन्। संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्न तथा उठेका प्रश्नहरूको जवाफ दिन अनुपस्थित रहेको भन्दै उनले प्रधानमन्त्रीले पद त्यागे लोकतन्त्र र नागरिक सम्मानित हुने बताएका छन्।
शुक्रबार जारी प्रेस विज्ञप्तिमा साम्पाङले प्रधानमन्त्रीको अनुपस्थितिलाई गम्भीर रूपमा लिँदै संसद र जनताको अपमान भएको दाबी गरेका छन्। उनका अनुसार आजसम्म संसदमा कुनै पनि बैठकमा जनतालाई सम्बोधन नगर्नुले प्रधानमन्त्रीले संसदीय मर्यादा उल्लङ्घन गरेको स्पष्ट देखिन्छ।
साम्पाङले राजीनामाको मागका चार मुख्य कारणसमेत उल्लेख गरेका छन्। पहिलो, राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री सभाबाट बाहिरिएको र पुनः नफर्किएको। दोस्रो, नीति तथा कार्यक्रम संसदमा पेस हुँदा तथा प्रतिपक्षले उपस्थितिको माग गर्दा पनि प्रधानमन्त्री अनुपस्थित रहेको। तेस्रो, नीति तथा कार्यक्रममाथि छलफल हुँदा उठेका प्रश्नहरूको जवाफ दिनुपर्ने संसदीय परम्परालाई बेवास्ता गर्दै बिना कारण अनुपस्थित रहेको। र चौथो, हालसम्म संसदमा जनतालाई प्रत्यक्ष सम्बोधन नगरेको।
उनले प्रधानमन्त्रीको कार्यशैलीप्रति प्रश्न उठाउँदै भनेका छन्, “जनताका प्रश्नबाट भाग्ने र कर्तव्य पूरा नगर्ने प्रवृत्तिले गलत नजीर बसाउँछ।” न्यूनतम कर्तव्यसमेत पूरा नगरेको अवस्थामा नैतिकताको आधारमा पदबाट राजीनामा दिनु नै उचित हुने उनको धारणा छ।साम्पाङले प्रधानमन्त्रीले मार्ग प्रशस्त गरेमा लोकतन्त्र र जनताको सम्मान जोगिने बताएका छन्।












