जेठ १६,चितवन।।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी नेतृत्वको सरकारले देश विकास गर्नेमा ढुक्क रहन जनतालाई आग्रह गरेका छन्।
आज भरतपुरमा आयोजित रास्वपा भरतपुर महानगर समितिको प्रथम अधिवेशन उद्घाटन गर्दै उनले आगामी आर्थिक वर्षको बजेट पार्टीको चुनावी वाचापत्रअनुसार ल्याइएको स्पष्ट पारे। उनले जनतासँग गरिएको प्रतिबद्धता पूरा गर्न पार्टी र सरकार पूर्ण रूपमा कटिबद्ध रहेको बताए।
महामन्त्री शाहले भने, “सरकारले पार्टीले तयार पारेको वाचापत्रलाई प्रतिबद्धता पत्रमा रूपान्तरण गरेको छ, र सोहीअनुसार बजेटको व्यवस्था गरिएको छ। अब त्यसलाई व्यवहारमा उतारेर विकासमा परिणत गर्ने दिशामा हामी अघि बढिरहेका छौँ। हामीले सफा नियतका साथ काम गरेका छौँ र जनतासँग गरेका वाचा पूरा गर्न प्रतिबद्ध छौँ।”
उनले राजनीतिमा दुई प्रकारका गुणबीच संघर्ष हुने उल्लेख गर्दै पार्टी र देशलाई माया गर्ने सकारात्मक गुणलाई आत्मसात् गर्दै अघि बढ्नुपर्नेमा जोड दिए। पार्टीका लागि योगदान गर्ने र निरन्तर काम गर्ने कार्यकर्तालाई निराश नहुन आग्रह गर्दै उनले सबल पार्टीमार्फत मात्रै देश निर्माण सम्भव हुने बताए।
शाहले रास्वपा बलियो बनेमा आगामी दुईदेखि तीन दशकसम्म देशको नेतृत्व गर्न सक्ने दाबी गरे। उनले अहिलेको समय पार्टी निर्माणको भएको उल्लेख गर्दै यस अभियानमा योगदान दिनेहरूलाई उचित अवसर प्रदान गरिने बताए।









