गण्डकी प्रदेशमा राइड सेयरिङ भाडादर लागू: दुई र चार पांग्रेमा छुटसहित नयाँ व्यवस्था
  • प्रमुख खबर

जेठ १७, पोखरा।।

गण्डकी प्रदेश सरकारले प्रदेशभित्र सञ्चालन हुने राइड सेयरिङ सवारी साधनको भाडादर आधिकारिक रूपमा निर्धारण गर्दै कार्यान्वयनमा ल्याएको छ । मन्त्रिपरिषद् बैठकबाट राइड सेयरिङ नियमावली पारित भएसँगै दुई पांग्रे र चार पांग्रे सवारी साधनका लागि छुट्टाछुट्टै भाडा तोकिएको हो ।

वैशाख २२ गतेको मन्त्रिपरिषद् बैठकले नियमावली पारित गरेपछि भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले भाडादर निर्धारण गरेको हो । यसअघि २०८२ वैशाख ३० गते पहिलो पटक पारित नियमावली संघीय सरकारको परिपत्र तथा यातायात व्यवसायीको आन्दोलनका कारण कार्यान्वयनमा आउन सकेको थिएन ।

नयाँ व्यवस्थाअनुसार चार पांग्रे पेट्रोल सवारीको सुरुवाती भाडा ६० रुपैयाँ तोकिएको छ भने प्रति किलोमिटर ४८.५ रुपैयाँ लाग्नेछ । २ किलोमिटरसम्मको आधार भाडा १५६.५ रुपैयाँ कायम गरिएको छ । त्यसपछि दूरीअनुसार थप शुल्क लाग्नेछ । यस्ता सवारीमा पेट्रोलमा १० प्रतिशत र विद्युतीय सवारीमा १५ प्रतिशत छुट अनिवार्य गरिएको छ ।
त्यस्तै, दुई पांग्रे सवारीको सुरुवाती भाडा ३० रुपैयाँ तोकिएको छ भने प्रति किलोमिटर १६.८५ रुपैयाँ निर्धारण गरिएको छ ।

१ किलोमिटरसम्मको आधार भाडा ४६.८५ रुपैयाँ कायम गरिएको छ । दुई पांग्रे सवारीमा पनि पेट्रोलमा १० प्रतिशत र विद्युतीय सवारीमा १५ प्रतिशत छुट दिनुपर्ने व्यवस्था गरिएको छ ।

मन्त्री गोविन्दबहादुर नेपालीका अनुसार सरकारले तोकेको भाडा र छुट राइड सेयरिङ एपमै अनिवार्य रूपमा समावेश गर्नुपर्नेछ । निर्धारित भाडाभन्दा बढी कुनै पनि शुल्क लिन पाइने छैन ।सरकारले यो व्यवस्थामार्फत यात्रुहरूलाई सहुलियत दिने तथा राइड सेयरिङ सेवामा एकरूपता ल्याउने उद्देश्य राखेको जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्