अषाढ १, पोखरा ।।
सोमबार(आज) गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नयाँ बजेट सार्वजनिक गर्दैछ । बजेट सार्वजनिक गर्नु अघि अहिले दिउँसो ४ बजे प्रदेश सभाको बैठक बोलाइएको छ ।
गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि २८ अर्ब ७० करोड ५६ लाख ९६ हजार रुपैयाँको बजेट सिलिङ निर्धारण गरेको छ।
प्रदेश नीति तथा योजना आयोगले तय गरेको यो सिलिङ गत आर्थिक वर्षको तुलनामा करिब ४ अर्ब रुपैयाँले कम हो। आर्थिक वर्ष २०८१/८२ मा प्रदेशको बजेट झन्डै ३३ अर्ब रुपैयाँ रहेको थियो।
विषेशगरी राजस्व संकलनमा आएको गिरावट र अर्थतन्त्रका सूचकमा देखिएको दबाबका कारण यसपटक आर्थिक मामिला मन्त्रालयले बजेटको आकार घटाएर ल्याउने भनेको छ । तर मन्त्रालयले सो कुरा भनिरहँदा चालु आवकै हाराहारीमा बजेट आउने अर्थकै अधिकारीहरुले बताइरहेका छन् ।










