भदौ ८, काठमाडौं ।।
नेपालमा पछिल्लो समय लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस(जेइ)रोगको जोखिम बढ्दै गएको छ । संक्रमणका कारण बिरामी हुने र ज्यान गुमाउँनेको संख्या बढेपछि स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाले सतर्क रहन आग्रह गरेको छ ।
महाशाखाका अनुसार देशका २५ जिल्लाका ५९ पालिकामा ८० जनामा यो रोगको संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ८६ प्रतिशतले जेइविरुद्धको खोप नलगाएको पाइएको छ । संक्रमणका कारण अहिलेसम्म २१ जनाको ज्यान गइसकेको समेत महाशाखाले जनाएको छ ।
जापानिज इन्सेफलाइटिसका संक्रमितमध्ये सबैभन्दा धेरै झापामा १० जना छन् । यस्तै कैलाली र मोरङमा ७-७, सप्तरी र कञ्चनपुरमा ६-६ तथा चितवन, सुनसरी र नवलपरासी पूर्वमा ५-५ जना संक्रमित भेटिएका छन् ।
रोगको जोखिम मुख्यतः तराई तथा भित्री मधेसका जिल्लामा बढी देखिए पनि इलाम, काभ्रेपलाञ्चोक, काठमाण्डौ, सिन्धुली र सुर्खेतलगायत पहाडी जिल्लामा समेत संक्रमण पुष्टि भएको छ । यो रोग विषेशगरी संक्रमित क्युलेक्स जातको लामखुट्टेको टोकाइबाट सर्ने स्वास्थ्य महाशाखाले जनाएको छ।








