२३ साउन काठमाडौं।।
कञ्चनपुरका पत्रकार खेम भण्डारी एक महिनापछि जेलमुक्त भएका छन्। अदालतको फैसलाअनुसार कैद सजाय भुक्तान गरेपछि उनी रिहा भएका हुन्।
भण्डारीलाई गत असार १८ गते भीमदत्त नगरपालिका–१८ कटानबाट प्रहरीले पक्राउ गरेको थियो। अदालतको फैसला कार्यान्वयनका लागि उनलाई हिरासतमा लिइएको प्रहरीले जनाएको थियो।
निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणसम्बन्धी समाचार लेख्दा गाली बेइज्जती गरेको ठहर गर्दै कञ्चनपुर जिल्ला अदालतले १ जेठ २०८२ मा उनलाई दोषी ठहर गरेको थियो। न्यायाधीश राजेन्द्रसिंह भण्डारीको इजलासले उक्त मुद्दामा उनलाई एक महिना कैद सजाय सुनाएको थियो।
पत्रकार भण्डारीले उक्त प्रकरणमा तथ्यहीन रूपमा आफूलाई जोडेर समाचार लेखेको आरोप लगाउँदै कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक (एसपी) दिल्लीराज बिष्टका छोरा किरण बिष्टले उनीविरुद्ध मुद्दा दायर गरेका थिए। किरण बिष्ट स्वयं पनि पत्रकार हुन् र राष्ट्रिय समाचार समितिमा कार्यरत छन्।
२०७५ साउन १० गते साथीको घरमा पढ्न जाने भन्दै घरबाट निस्केकी निर्मला पन्त भोलिपल्ट भीमदत्त नगरपालिका अन्तर्गत निम्बुखेडा खोलाको उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन्। उक्त घटनाका दोषी अहिलेसम्म पहिचान हुन सकेका छैनन्।









