साउन २५, काठमाडौं ।।
दुई पूर्वप्रधानमन्त्रीहरूका स्वकीय सचिवहरूको सम्पत्ति अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरु गरेको छ ।
पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वयको स्वकीय सचिवहरुको अख्तियारले सम्पत्ति अनुसन्धान गर्न सुरु गरेको हो । देउवाका स्वकीय सचिव भानु देउवा र प्रचण्डका स्वकीय सचिव गंगा दहालको परिवारको सम्पत्ति अनुसन्धान गर्न सुरु भएको हो ।
आयोगमा परेको उजुरीका आधारमा अख्तियारले अनुसन्धान अधिकृत तोकेर भानुको परिवारका नाममा रहेको सम्पत्तिको छानबिन सुरु गरेको हो । त्यसक्रममा उनको बैंक खाता विवरणदेखि जग्गा र शेयरहरूको लगत विवरण मगाउने काम चलिरहेको अख्तियारसम्बद्ध स्रोतले बतायो ।
यस्तै पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको पछिल्लो कार्यकालकी स्वकीय सचिव गंगा दाहालको परिवारको सम्पत्ति अनुसन्धान समेत सुरु भएको छ ।
अख्तियार सम्वद्ध स्रोतका अनुसार गंगा दाहाल र उनका पति जीवन आचार्यको एकसाथ सम्पत्ति अनुसन्धान अघि बढेको हो । जीवन आचार्य कोशी प्रदेशसभाका सदस्य एवं कोशी प्रदेश सरकारका पूर्वमन्त्री समेत हुन् ।
अख्तियारले यसअघि नै पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्यको सम्पत्ति अनुसन्धान गर्न सुरु गरिसकेको छ । अनुसन्धानका लागि बज्राचार्यलाई अख्तियारले टंगालस्थित कार्यालयमा बोलाएर सम्पत्ति विवरण भराइसकेको छ ।









