भदौ १०, काठमाडौं ।।
बुधबार(आज) प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले सांसदहरूले उठाएका प्रश्नहरूको प्रत्यक्ष उत्तर दिँदै छन् । प्रतिनिधिसभा नियमावलीको व्यवस्थाअनुसार प्रधानमन्त्रीले पहिलो पटक नियमपूर्वक प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा भाग लिन लागेका हुन्।
प्रतिनिधिसभा नियमावलीको परिच्छेद ९ मा हरेक महिनाको पहिलो हप्ता प्रधानमन्त्रीले संसदमा उपस्थित भई सांसदहरूका लिखित प्रश्नको जवाफ दिनुपर्ने प्रावधान छ ।
यसअघि जेठ १७ गते सांसदको प्रश्नको जवाफ दिन भन्दै अचानक संसद् पुगेका प्रधानमन्त्री शाह त्यसयता जवाफ दिन नआएपछि सभामुख डीपी अर्यालले भदौ १ गतेको बैठकबाट आजको बैठकमा अनिवार्य उपस्थित हुनको लागी भन्दै रुलिङ गरेका थिए।
आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, रास्वपा, राप्रपा र श्रम संस्कृति पार्टीका गरी ११ जना सांसदले प्रश्न सोध्दै छन् ।
सांसदहरूले मुख्य गरी यसअघि जेठ १७ गते संसद्मा प्रधानमन्त्रीले नेपाल–भारत सीमा सम्बन्धमा दिएको अभिव्यक्ति विवादमा परेकाले यस विषय स्पष्ट पार्न, सरकारको तीन महिने कार्यकालको समीक्षा, सुशासन, बजेट कार्यान्वयन र समसामयिक विकास निर्माणबारे र संसद्प्रति सरकारको जवाफदेहिताका विषयमा केन्द्रित रहेर प्रश्न दर्ता गराएका छन् ।









