रसुवामा आएको भीषण बाढी भूकम्पबाट सिर्जित : चिनियाँ राजदूत
  • प्रमुख खबर

बाढीले क्षति नुवाकोट, ११ भदौः रसुवाको भोटेकोशीमा आएको बाढीले क्षति पुर्‍याएको नुवाकोटको त्रिशुली देवीघाट बजार। तस्बिर: हेमन्त जोशी/रासस

भदौ ११, रसुवा ।।
रसुवामा आएको भीषण बाढी र पहिरो नेपालतर्फ गएको भूकम्पका कारण सिर्जना भएको प्रारम्भिक जानकारी प्राप्त भएको नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले बताएका छन्। एनटिभी वर्ल्डसँगको अन्तर्वार्तामा राजदूत चाङले सो कुरा बताएका हुन् ।

विपद्‌मा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै नेपाल सरकार तथा नेपाली जनताप्रति पनि चीनले गहिरो समवेदना प्रकट गरेको छ। हालसम्म उपलब्ध प्रारम्भिक जानकारी अनुसार विपद्को दिन बिहान नेपालतर्फ भूकम्प गएको देखाएको चिनियाँ राजदूत चाङले स्पष्ट पारेका छन् ।

उनका अनुसार भूकम्पका कारण हिमपहिरो र त्यसलगत्तै लेदोसहितको बाढी आएको थियो। यस प्राकृतिक घटनाले केरुङ–रसुवागढी सीमा क्षेत्रको नेपाल र चीन दुवैतर्फ ठूलो मानवीय क्षति पुर्‍याएको र धेरै मानिसहरू बेपत्ता भएको उनले उल्लेख गरे।

चिनियाँ राष्ट्रपति सी चिनफिङले यस विपद्लाई उच्च प्राथमिकतामा राख्दै बेपत्ताहरूको खोजी र उद्धार, जोखिममा परेकाहरूको सुरक्षित स्थानान्तरण र घाइतेहरूको तत्काल उपचार गरी मानवीय क्षतिलाई सकेसम्म कम गर्न महत्त्वपूर्ण निर्देशन दिएको चिनियाँ राजदूतले जानकारी दिए ।

विपद्लगत्तै काठमाडौँस्थित चिनियाँ दूतावासले आफ्नो आपत्कालीन संयन्त्र सक्रिय गर्दै स्थलगत उद्धारमा समन्वय गर्न प्रभावित क्षेत्रमा एउटा कार्यदल पठाएको थियो । यस्तै चीनको सीमातर्फ पनि ठूलो क्षति भएतापनि चीनले नेपाललाई आपत्कालीन राहत सामग्री र नगद सहयोग उपलब्ध गराउन तत्काल समन्वय सुरु गरिसकेको राजदूत चाङले बताए।

यसैबीच, चीनको राज्य परिषद्का उपप्रधानमन्त्री चाङ गोछिङले सम्बन्धित मन्त्रालयका अधिकारीहरूको नेतृत्व गर्दै उद्धार कार्यको मार्गदर्शन गर्न तिब्बतको भ्रमण गरेका छन्।

चीनका परराष्ट्र, जलस्रोत, मौसम विज्ञान, आपत्कालीन व्यवस्थापन लगायतका मन्त्रालय र तिब्बत स्वायत्त क्षेत्रका अधिकारीहरूले नेपाली समकक्षीहरूसँग समन्वय संयन्त्र स्थापना गरी उद्धार तथा विपद् मूल्याङ्कनको कार्यलाई तीव्रता दिएका छन्।

त्यस्तै राजदूत चाङले भविष्यमा यस्ता विपद्हरूको प्रभाव कम गर्न नेपाल र चीनबीच सूचना आदानप्रदान र पूर्वचेतावनी, आपत्कालीन उद्धारमा समन्वय र क्षमता अभिवृद्धि जस्ता तीन वटा महत्वपूर्ण क्षेत्रमा सहकार्य गर्न सकिने औँल्याएका छन् ।

मौसम विज्ञान, जलविज्ञान र भौगर्भिक विपद्का क्षेत्रमा अनुगमन तथा पूर्वचेतावनी प्रणाली बलियो बनाउने र सीमापार विपद् सूचना आदानप्रदान संयन्त्र सुधार गर्नुपर्ने उनले बताए। राजदूत चाङले सङ्कटको यस घडीमा नेपाल सरकार र नेपाली जनताले देखाएको दृढता र प्रतिकार्य प्रयासको प्रशंसा गरेका छन्।

हिमाल र नदीले जोडिएको नजिकको छिमेकीको हैसियतले दुवै देशका नागरिकको ज्यान र सम्पत्तिको सुरक्षा गर्न चीनले नेपाललाई हरसम्भव सहयोग गर्ने प्रतिबद्धता उनले दोहोर्‍याएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्