भदौ २२, काठमाडौं ।।
नेपाल सरकारले अन्तर्राष्ट्रिय समुदायसँग बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारको लागि अत्याधुनिक उपकरण र विशेष सामग्रीहरू माग गरेको छ।
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि खोज तथा उद्धार कार्यमा प्राविधिक कठिनाइ थपिएपछि सरकारले अन्तर्राष्ट्रिय समुदायसँग सहयोग माग गरेको हो ।
परराष्ट्र मन्त्रालयले सोमबार(आज) जारी गरेको पछिल्लो अद्यावधिक विवरणअनुसार बाढी प्रभावित क्षेत्रमा उद्धार अभियानलाई तीव्रता दिन र जोखिम न्यूनीकरण गर्न उच्च प्राविधिक उपकरणहरूको सूची नै बनाएर सहयोगको अपिल गरिएको हो।
विषेशगरी बाढीका कारण खोलामा आएको बाक्लो लेदोले जलविद्युत् आयोजनाका सुरुङभित्र फसेकाहरूको खोजी तथा उद्धार गर्न नेपालको आफ्नै प्राविधिक क्षमता अपर्याप्त भएसंगै यसले कठिनाइ भएको हुँदा सरकारले विदेशी नियोग र मित्रराष्ट्रहरूसँग सहयोग मागेको हो ।
सरकारले अन्तर्राष्ट्रिय समुदायसँग अप्ठ्यारो भूबनोट, पहिरोग्रस्त क्षेत्र र सुरुङभित्रको अवस्था स्क्यानिङ गरी बेपत्ताको खोजी गर्न उच्च क्षमताका ड्रोन र लाइडरको माग गरेको छ ।
त्यस्तै बाक्लो लेदो र जलविद्युत् आयोजनाका सुरुङमा पसेर सुरक्षित उद्धार गर्न प्रयोग गरिने विशेष पोसाक अर्थात् मड/टनेल रेस्क्यु सुट पनि माग गरिएको छ ।
सरकारले डुबानमा परेका क्षेत्र र सुरुङभित्र जमेको पानी तथा लेदो तत्काल बाहिर फाल्न उच्च क्षमताका पम्प पनि माग गरेको छ ।
बाढीले बगाएका पुलहरूको स्थानमा तत्काल जडान गरी सडक सञ्जाल सुचारु गर्न बेली ब्रिजहरू, डीएनए परीक्षण किट र ल्याब फ्रिजर पनि सरकारले माग गरेको छ ।
यस्तै विपद्पछि प्रभावित क्षेत्रमा फैलिन सक्ने सरुवा रोग र महामारी नियन्त्रणका लागि आवश्यक पर्ने चिकित्सकीय तथा स्वास्थ्य सामग्रीको लागी समेत सरकारले अन्तर्राष्ट्रिय समुदायसँग माग गरेको छ ।








