भोटेकोशी बाढीको १५औँ दिनः १ हजार ३६७ शव भेटिए, ५ हजार १३२ अझै सम्पर्कविहीन
  • प्रमुख खबर

भदौ २४, काठमाडौं ।।
रसुवाको भोटेकोशी नदीमा बाढी आएको बुधबार (आज) १५औँ दिन भईसकेको छ । बाढी आएको १५औँ दिनसम्म आइपुग्दा अहिलेसम्म १ हजार ३६७ जनाको शव भेटिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

रसुवामा १७४, नुवाकोटमा १९७, धादिङमा ७०, गोरखामा ७५, तनहुँमा ३८, चितवनमा ३६३, नवलपरासी पूर्वमा २२६ र नवलपरासी पश्चिममा २२२ वटा शव भेटिएको हो ।

यस्तै उपचारका क्रममा काठमाडौंमा २ जनाको ज्यान गएको छ । प्राधिकरणका अनुसार भेटिएको शवमध्ये १०२ वटा सनाखतपछि आफन्तलाई बुझाइएको छ ।
अहिलेसम्म १३ हजार ६४६ जनाको उद्धार भएको प्राधिकरणले बताएको छ ।

उद्धार गरिएकामध्ये ३ हजार ६२८ जनाले रसुवा, नुवाकोट र धादिङका ३९ वटा होल्डिङ सेन्टरमा आश्रय लिइरहेका छन् । अझै ५ हजार १३२ जना सम्पर्कविहीन रहेका छन् ।

सम्पर्कविहीन हुनेमध्ये सबैभन्दा धेरै रसुवाबाट २ हजार ८६० र नुवाकोटबाट १ हजार ३९३ जना छन् । बाँकी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विभिन्न निकायका सरकारी कर्मचारी तथा अन्य जिल्लाका नागरिक रहेका छन् ।

प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनर्स्थापना लगायतका कामलाई तीव्र पारेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्