भदौ २४,रुपन्देही।।
भारतका महाराष्ट्र, दिल्ली, झारखण्ड, मध्यप्रदेश र बिहारलगायत विभिन्न स्थानमा जोखिमपूर्ण अवस्थामा फेला परेका १५ जना नेपाली बालबालिका तथा किशोरकिशोरीलाई उद्धार गरी मंगलबार राति नेपालगन्ज नाका हुँदै नेपाल ल्याइएको छ।
भारतस्थित नेपाली दूतावासको समन्वय तथा दिल्लीमा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध कार्यरत संस्था किन इन्डिया (KIN India) को पहलमा उनीहरूको उद्धार गरिएको हो। संस्थाका निर्देशक नविन जोशीका अनुसार उद्धार गरिएका बालबालिकालाई सुरक्षित रूपमा नेपाल ल्याएर बुधबार परिवार तथा आफन्तको जिम्मा लगाइने कार्यक्रम रहेको छ।
“भारतका विभिन्न स्थानबाट उद्धार गरिएका १५ जना बालबालिकालाई समन्वय गरी नेपाल ल्याएका छौँ। नेपालगन्ज हुँदै रुपन्देही पुगेपछि उनीहरूलाई परिवारसँग पुनर्मिलन गराइनेछ,” जोशीले बताए।
उद्धार गरिएका बालबालिका मधेश प्रदेशसहित पश्चिम नवलपरासी, पाल्पा, कैलाली, कञ्चनपुरलगायत विभिन्न जिल्लाका हुन्। उनीहरूलाई विभिन्न प्रलोभन र माध्यमबाट अवैध रूपमा भारत पुर्याइएको थियो। जोखिमपूर्ण अवस्थामा रहेको सूचना पाएपछि भारतीय प्रहरी, विशेषगरी महाराष्ट्र प्रहरी, तथा नेपाली दूतावासको समन्वयमा उद्धार गरिएको जनाइएको छ।
नेपाल ल्याउने क्रममा किन इन्डिया का कर्मचारीसँगै भारतस्थित नेपाली राजदूतावासका वरिष्ठ प्रहरी उपरीक्षक प्रकाश मल्ल पनि सहभागी थिए।
उद्धार गरिएकामध्ये १२ जना १५ वर्षमुनिका बालबालिका र तीन जना १५ वर्षभन्दा माथिका किशोरकिशोरी रहेका छन्। उनीहरूमध्ये पाँच जना बालिका तथा किशोरी हुन्।
प्रारम्भिक अनुसन्धानका क्रममा केही बालकले आफूहरूलाई मदरसामा पढाइने भन्दै भारत लगिएको बताएका छन्। प्राप्त सूचनाका आधारमा उनीहरू नियमविपरीत र जोखिमपूर्ण अवस्थामा रहेको पुष्टि भएपछि महाराष्ट्र प्रहरीको सहयोगमा मदरसामा छापा मारेर उद्धार गरिएको जोशीले जानकारी दिए।
यस्तै, केही बालिका तथा किशोरी घरेलु तथा यौन हिंसाबाट पीडित भएर घरबाट भागेका थिए भने केही बालबालिका दिल्लीका रेल्वे स्टेशनमा अलपत्र अवस्थामा भेटिएका थिए। उद्धारपछि उनीहरूलाई केही समय किन इन्डिया को संरक्षणमा राखिएको थियो।
जोशीका अनुसार महोत्तरीको सम्सी गाउँपालिकाका ६ जना नाबालकलाई अनधिकृत रूपमा मदरसा पढाउने भन्दै महाराष्ट्रको जलना जिल्ला लगिएको थियो, जहाँबाट स्थानीय प्रहरीको सहयोगमा उद्धार गरिएको हो। झापा, पर्सा र कञ्चनपुरका दुई किशोरी र एक नाबालकलाई दिल्लीबाट उद्धार गरिएको छ। उनीहरू घरेलु हिंसा र पारिवारिक विवादका कारण त्यहाँ पुगेका थिए।
त्यसैगरी पाल्पा र अछामका दुई नाबालकलाई मध्यप्रदेशबाट, पश्चिम नवलपरासीकी एक नाबालिकालाई झारखण्डबाट तथा रौतहट र सिरहाका दुई नाबालिका र एक नाबालकलाई बिहारबाट उद्धार गरिएको हो। अधिकांश बालबालिका पारिवारिक विखण्डन, हिंसा वा प्रलोभनका कारण भारत पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
उद्धार टोलीले दुईवटा सवारीसाधनमार्फत भारतको बरेली हुँदै नेपालगन्ज नाका र अर्को टोलीले पटना हुँदै रुपन्देहीसम्म बालबालिकालाई सुरक्षित रूपमा ल्याएको जनाएको छ।








