अस्पताल परिसरबाहिरै बच्चा जन्माएको घटनामा स्वास्थ्य मन्त्रालयको छानबिन, दोषी देखिए कडा कारबाही हुने
  • प्रमुख खबर

भदौ २५,काठमाडौं।।

सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै एक गर्भवती महिलाले शिशु जन्माउन बाध्य भएको घटनाप्रति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गम्भीर चासो व्यक्त गर्दै अस्पतालसँग स्पष्टीकरण मागेको छ।

घटनाको सत्यतथ्य पत्ता लगाउन मन्त्रालयले तत्काल छानबिन टोली राजविराज पठाएको जनाएको छ।स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले सामाजिक सञ्जालमार्फत उक्त घटनालाई मन्त्रालयले अत्यन्त गम्भीर रूपमा लिएको बताउँदै निष्पक्ष छानबिनबाट वास्तविकता छिट्टै सार्वजनिक गरिने जानकारी दिएकी छन्।

मन्त्री मेहताले छानबिनका क्रममा स्वास्थ्यकर्मी वा अस्पताल प्रशासनबाट कुनै प्रकारको लापरबाही वा कमजोरी देखिएमा संलग्न जो–कोहीलाई पनि प्रचलित कानुनअनुसार कडा कारबाही गरिने स्पष्ट चेतावनी दिएकी छन्।

उनले प्रत्येक नागरिकले स्वास्थ्य संस्थामा पुग्दा समयमै उपचार, सम्मानजनक व्यवहार र गुणस्तरीय सेवा पाउने नैसर्गिक अधिकार रहेको उल्लेख गर्दै स्वास्थ्य सेवाप्रति नागरिकको विश्वास कायम राख्न मन्त्रालय सदैव प्रतिबद्ध रहेको बताएकी छन्।

अस्पताल पुगेकी गर्भवती महिलाले समयमै भर्ना र उपचार नपाउँदा अस्पताल परिसरबाहिर खुला स्थानमै बच्चा जन्माउनुपरेको भिडियो तथा समाचार सार्वजनिक भएपछि घटनाको चौतर्फी आलोचना भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्