स्पाइरल ग्यालेक्सीको आयोजनामा पहिलो अन्तरविद्यालय शिक्षक फुटसल प्रतियोगिता सुरु
  • सन्तोष पराजुली

भदौ २७,पोखरा।।

स्पाइरल ग्यालेक्सी एकेडेमी सेकेन्डरी स्कुलको आयोजनामा पोखरा रंगशालामा ‘फर्स्ट इन्टर–स्कुल टिचर्स फुटसल टुर्नामेन्ट–२०८३’ सुरु भएको छ।

प्रतियोगिताको उद्घाटन प्रमुख अतिथिसमेत रहेका पोखरा महानगरपालिका–१ का वडाध्यक्ष सहारा प्रधानले फ्लेक्समा हस्ताक्षर गरी गरेका हुन्। उद्घाटन समारोह स्पाइरल ग्यालेक्सी एकेडेमीका संस्थापक प्राचार्य अशोक ओझाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा विद्यालयका डाइरेक्टर अर्जुन चपाईं विशिष्ट अतिथि साथै स्पाइरल ग्यालेक्सी एकेडेमीका जग्गादाता तथा समाजसेवी माधवप्रसाद पराजुली, खगेन्द्रराज पराजुली र लक्ष्मीमा पराजुलीको पनि विशिष्ट अतिथिको रुपमा उपस्थिति रहेको थियो भने विद्यालयका सहप्राचार्य प्रेम शर्मा विशेष अतिथि रहेका थिए।

कार्यक्रमलाई भव्य र आकर्षक बनाउनको लागि स्पाइरल ग्यालेक्सी एकेडेमीका शिक्षिकाद्वय पुनम श्रेष्ठ र स्मारिका घर्तीले स्वागत नित्य प्रस्तुत गरेका थिए।

‘Compete With Passion, Play With Pride’ भन्ने नाराका साथ आयोजना गरिएको प्रतियोगितामा पोखराका विभिन्न विद्यालयका शिक्षक टोलीहरूको सहभागिता रहेको छ। उद्घाटन चरणअन्तर्गत भएका खेलमा शिक्षक टोलीहरूले उत्साहपूर्ण प्रतिस्पर्धा गरेका छन्।

प्रतियोगितामा स्पाइरल ग्यालेक्सी ‘ए’ लाई सूर्योदय बोर्डिङले ६–० ले पराजित गरेको छ भने स्पाइरल ग्यालेक्सी ‘बी’ ले वोरेन्द्र मेमोरियललाई ११–१ को फराकिलो अन्तरले हराएको छ।

त्यस्तै, पश्चिमाञ्चल बोर्डिङले बालकल्याणलाई ९–१, गण्डकी बोर्डिङ स्कुलले लिटल फ्लावरलाई ६–० तथा भ्यू प्वाइन्टले पोखरा स्पाइरललाई ५–१ ले पराजित गरेको छ।

डायमण्ड स्कुलले रेम्बो एकेडेमीलाई ५–४ ले हराउँदा त्रिभुवन शान्तिलाई प्रगति स्कुलले ५–१ ले पराजित गरेको छ। माउन्ट अन्नपूर्णमाथि फिस्टेल एकेडेमीले ३–१ को जित निकालेको छ। अम्बिका माध्यमिक विद्यालयले ड्रिम्सलाई ३–१, पीकेजीले ज्ञान बगैंचालाई ३–१ तथा सबलाइमले लेबिनलाई ५–१ ले हराएका छन्।

त्यस्तै, त्रिभेणीले वेसलाइन एकेडेमीलाई ४–१, मनकामना बोर्डिङले डायमण्ड मोडेललाई २–१, शुभकामनाले एक्स आर्मी माध्यमिक विद्यालयलाई ८–१ र गुरुकुल विद्या सदनलाई जेसीए स्कुलले ५–२ ले पराजित गरेको छ। बेथानी बोर्डिङले ज्ञानगंगालाई ३–२ ले हराएको छ।
नेसनल क्रियसन र अल्फा बोर्डिङबीचको खेल तथा अक्सफोर्ड र हेम्जा बोर्डिङबीचको खेल पेनाल्टी सुटआउटबाट टुंगिएको थियो। दुवै खेलमा क्रमशः अल्फा बोर्डिङ र अक्सफोर्ड विजयी भएका छन्। तालबेँशी माध्यमिक विद्यालय र न्यू ग्यालेक्सीबीचको खेल पनि पेनाल्टीमा पुगेको थियो, जसमा तालबेँशी विजयी भएको खेल संयोजक ईश्वर बानियाले बताए।

शिक्षकहरूबीच आपसी सम्बन्ध, भाइचारा र खेलकुद संस्कृतिको विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले विद्यालयस्तरमा खेलकुदको वातावरण निर्माणमा समेत योगदान पुग्ने आयोजकले जनाएको छ। प्रतियोगिताका आगामी चरणका खेलहरू पनि पोखरा रंगशालामा सञ्चालन हुनेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्