असोज २९, गोरखा ।।
बाढी प्रभावित क्षेत्र बूढीगण्डकीबाट एक हजार बढी नागरिकको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। जिल्ला प्रशासन कार्यालय गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले असोज २५ गते आइतबारदेखि बिहीबार(आज)सम्म एक हजार ४४ जनाको उद्धार गरिएको जानकारी दिएका छन् ।
उद्धार गरिएकामध्ये ७० जना विदेशी नागरिक रहेका उनले बताए । बाढीले उत्तरी गोरखा जाने पदमार्ग र पुलमा क्षति पुर्याएसँगै सो क्षेत्रमा रहेका नागरिक फसेका थिए ।नेपाली सेनाको हेलिकोप्टरमार्फत उनीहरुलाई उद्धार गरिएको शर्माले बताए ।
बाढी गएको पहिलो दिन आइतबार प्रभावित क्षेत्रका ९६ जनाको उद्धार भएको थियो भने सोमबार ३२१ र मंगलबार १८६ जनाको उद्धार भएको उनले बताए। हिजो बुधबार भने ४४१ जनाको उद्धार भएको सहायक प्रजिअ शर्माको भनाइ छ ।
उद्धारसँगै राहत वितरणको काम पनि तीव्र पारिएको उनको जनाए । विषेशगरी सरकार र विभिन्न संघसंस्थाको सहयोगमा खाद्यान्न, टेन्ट, म्याट, सिरानी, सिरक, त्रिपाल, सोलार, जेनेरेटरलगायतका अति आवश्यक राहत सामग्री वितरण भइरहेको उनको भनाइ छ । बाढीले सडक सञ्जालसँगै पदमार्ग कटान गरेपछि उद्धार र राहतमा हेलिकोप्टर प्रयोग गर्नुपरेको उनले बताए ।








