कात्तिक २, काठमाडौं।।
आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ।
अल अमेरत क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ–१ मा हुने खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरु हुनेछ। लिग–२ को अंकतालिकामा शीर्ष ६ मा स्थान बनाउन नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ।
शृङ्खलाको पहिलो खेलमा क्यानडालाई र दोस्रो खेलमा ओमानलाई पराजित गरेको नेपाल तेस्रो खेलमा शनिबार क्यानडासँग पराजित भएको थियो। क्यानडासँगको हारपछि नेपाल अंकतालिकामा सातौं स्थानमा झरेको हो।
क्यानडाले नेपाललाई हराएपछि ३६ खेलबाट २९ अंक जोड्दै छैटौं स्थानमा उक्लिएको छ भने नेपालको ३५ खेलबाट २८ अंक छ। त्यसैले आज ओमानलाई पराजित गरे नेपाल पुनः छैटौं स्थानमा उक्लिनेछ।
लिग–२ को शीर्ष ६ मा रहने टोलीको ओडीआई मान्यता जोगिने सम्भावना उच्च हुने भएकाले नेपालका लागि आजको खेल निकै महत्वपूर्ण मानिएको छ। यसअघि नेपालले ओमानलाई समेत पराजित गरिसकेको अवस्थामा आजको खेलमा पनि सोही लयलाई निरन्तरता दिने लक्ष्यमा हुनेछ।








