दशैंका तीन सिक्वेल फिल्मको बक्स अफिस रिपोर्ट सार्वजनिक: कमाई कति?
  • प्रमुख खबर

कार्तिक ९,काठमाडौं।।

यस वर्षको दसैंलाई लक्षित गर्दै प्रदर्शनमा आएका तीन नेपाली फिल्म ‘आबाट आमा २’, ‘छ माया छपक्कै २’ र ‘१२ गाउँ २’ ले अपेक्षाअनुसारको व्यापार गर्न सकेका छैनन्।

अघिल्ला भागको सफलतालाई निरन्तरता दिने अपेक्षा, दसैंको लामो बिदा र सिक्वेलप्रतिको दर्शकको चासोका कारण यी तीनवटै फिल्मबाट ठूलो व्यापारको अपेक्षा गरिएको थियो। तर चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको पहिलो आधिकारिक बक्स अफिस रिपोर्टले भने तीनवटै फिल्मको सुरुआती व्यापार अघिल्ला भागको तुलनामा कमजोर देखाएको छ।

कात्तिक ८ गतेसम्मको तथ्यांकअनुसार ‘आबाट आमा २’ तीन फिल्ममध्ये सबैभन्दा अगाडि छ। प्रदर्शनको १० दिनमा फिल्मले ४ करोड ११ लाख ४६ हजार ४८४ रुपैयाँ ग्रस कलेक्सन गरेको छ। यस अवधिमा फिल्मका १ लाख ३१ हजार ४९१ टिकट बिक्री भएका छन्।
दोस्रो स्थानमा रहेको ‘छ माया छपक्कै २’ ले प्रदर्शनको ९ दिनमा २ करोड ७६ लाख ३९ हजार ६५ रुपैयाँ ग्रस कमाएको छ। फिल्मका ८२ हजार ७५९ टिकट बिक्री भएका छन्।

त्यस्तै, ‘१२ गाउँ २’ ले १० दिनमा १ करोड ८३ लाख ९४ हजार ८८६ रुपैयाँ ग्रस कलेक्सन गरेको छ। यसको टिकट बिक्री संख्या ५७ हजार ९८३ रहेको छ।

यसरी कात्तिक ८ गतेसम्म तीनवटै फिल्मको कुल ग्रस कलेक्सन ८ करोड ७१ लाख ८० हजार रुपैयाँ पुगेको छ।अघिल्ला भागको तुलनामा ठूलो अन्तर चन्द्र पन्त निर्देशित ‘आबाट आमा २’ मा पल शाह, विपना थापा, मलिका महत र आकाश श्रेष्ठलगायत कलाकारको अभिनय छ। यसको अघिल्लो भाग ‘आबाट आमा’ ले १३ करोड २० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको थियो। तर सिक्वेलले प्रदर्शनको १० दिनमै अघिल्लो भागको कुल व्यापारलाई भेट्न त परै जाओस्, त्यसको तुलनामा निकै कम व्यापार गरेको छ।

दीपेन्द्र लामाको निर्देशनमा बनेको ‘छ माया छपक्कै २’ मा दीपकराज गिरी, केकी अधिकारी, सनिशा भट्टराई, दीपाश्री निरौला, कर्मा शाक्य र रिहान गिरीलगायत कलाकार छन्। यसको अघिल्लो भाग ‘छ माया छपक्कै’ ले ९ करोड ९२ लाख रुपैयाँ ग्रस कमाएको थियो। सिक्वेलको सुरुआती व्यापार भने अघिल्लो भागको तुलनामा कमजोर देखिएको छ।
यता, विराज भट्ट निर्देशित ‘१२ गाउँ २’ मा विराज भट्टसँगै समीर भट्ट, अनुपविक्रम शाही, कृशु शाही, वर्षा इटानी र सुनिल पोखरेललगायत कलाकार छन्। यसको अघिल्लो भाग ‘१२ गाउँ’ ले १९ करोड ९२ लाख रुपैयाँ ग्रस कमाएको थियो। तीन सिक्वेलमध्ये अघिल्लो भागको व्यापारसँग सबैभन्दा ठूलो अन्तर यही फिल्ममा देखिएको छ।

‘आबाट आमा २’ र ‘१२ गाउँ २’ असोज ३० गतेदेखि प्रदर्शनमा आएका थिए भने ‘छ माया छपक्कै २’ असोज ३१ गतेदेखि हलमा लागेको हो। तीनवटै फिल्म अहिले दोस्रो सातामा प्रदर्शनरत छन्।

यसैबीच, शुक्रबारदेखि ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ प्रदर्शनमा आएसँगै यी फिल्मका शो संख्या पनि खुम्चिएका छन्। नयाँ फिल्मको आगमनसँगै दोस्रो सातामा शो घट्नुले यी सिक्वेलको व्यापारमा थप दबाब पर्ने देखिएको छ।

अघिल्ला भागको सफलतालाई दोहोर्‍याउने लक्ष्यसहित दसैंमा प्रदर्शनमा आएका यी तीन फिल्मले सुरुआती दिनमा अपेक्षित रफ्तार समात्न नसकेको आधिकारिक तथ्यांकले देखाएको छ। अब बाँकी प्रदर्शन अवधिमा यी फिल्मले आफ्नो व्यापार कति माथि पुर्‍याउँछन् भन्ने चासोको विषय बनेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्