मङ्सिर ६,काठमाडौं।।
नेपाली क्रिकेटका लागि आजको दिन ऐतिहासिक बन्ने भएको छ। नेपालले आज (आइतबार) यूएईविरुद्ध आफ्नो १००औँ एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेल खेल्दैछ। कतारमा जारी राइजिङ स्टार्स एसिया कपअन्तर्गत हुने यस खेलमा नेपालसँग आफ्नो १००औँ ओडीआईलाई जितका साथ यादगार बनाउने अवसर छ।
नेपालले सन् २०१८ मा ओडीआई मान्यता पाएपछि हालसम्म ९९ खेल खेलेको छ। तीमध्ये नेपालले ४९ खेलमा जित, ४७ खेलमा हार, एक खेल बराबरी र दुई खेलमा नतिजाविहीन बनेको छ। आज यूएईलाई पराजित गर्न सके नेपालले ओडीआई क्रिकेटमा आफ्नो ५०औँ जित पूरा गर्नेछ।
नेपालले अहिलेसम्म सबैभन्दा बढी ओडीआई यूएईसँग नै खेलेको छ। दुई टोलीबीच भएका २० खेलमा नेपालले १२ जित हात पारेको छ भने आठ खेलमा पराजय बेहोरेको छ। यूएई नेपालले सबैभन्दा बढी जित र हार बेहोरेको प्रतिद्वन्द्वीसमेत हो।
नेपालले पछिल्लोपटक एसीसी प्रिमियर कपको फाइनलमा यूएईसँग प्रतिस्पर्धा गरेको थियो। उक्त खेलमा यूएईलाई हराउँदै नेपाल च्याम्पियन बनेको थियो र एसिया कपमा स्थान सुरक्षित गरेको थियो।
नेपालले सन् २०१८ अगस्ट १ मा नेदरल्यान्ड्सविरुद्ध आफ्नो पहिलो ओडीआई खेलेको थियो। ऐतिहासिक डेब्यु खेलमा नेपाल १९० रनको लक्ष्य पछ्याउने क्रममा १३४ रनमै समेटिएको थियो। तर, त्यसको दुई दिनपछि अगस्ट ३ मा नेपालले नेदरल्यान्ड्सविरुद्ध नै दोस्रो ओडीआईमा एक रनको ऐतिहासिक जित निकालेको थियो। कप्तान पारस खड्काको उत्कृष्ट प्रदर्शनमा नेपालले अन्तिम ओभरमा रोमाञ्चक जित हात पारेको थियो।
आजको खेल नेपालका लागि केवल १००औँ ओडीआई मात्र नभई जितको अर्धशतक पूरा गर्ने महत्वपूर्ण अवसर पनि हो। त्यसैले यूएईविरुद्धको यस ऐतिहासिक भिडन्तमा नेपाली टोली जित निकाल्दै दोहोरो उपलब्धि हासिल गर्ने लक्ष्यमा हुनेछ।








