मङ्सिर ६,काठमाडौं।।
नेपाली कांग्रेसका सभापति गगन थापा भोटेकोसी बाढीबाट प्रभावित क्षेत्रको स्थलगत अवलोकन तथा प्रभावित नागरिकसँग भेटघाट र छलफलका लागि पुनः प्रभावित क्षेत्रमा जाने भएका छन्।
सभापति थापा टोखा–छहरे हुँदै बेत्रावती पुग्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ। बेत्रावतीमा रसुवा र नुवाकोट दुवैतर्फका बाढी प्रभावित नागरिकसँग भेटघाट तथा अन्तरक्रिया गर्ने कार्यक्रम छ।
त्यसपछि रसुवाको बोगटीटारस्थित होल्डिङ सेन्टर पुगेर त्यहाँ रहेका प्रभावित नागरिकसँग छलफल गर्नेछन्। त्यहाँबाट नुवाकोट फर्किएर ढुङ्गे र त्रिशूली बजारका बाढी प्रभावितसँग भेटघाट तथा अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ। साथै, विदुरमा बाढी प्रभावित सरोकार समितिसँग पनि भेटघाट र छलफल हुनेछ।
सभापति थापाले विदुर नगरपालिका–५ पिपलटारमा नुवाकोट र रसुवाका प्रभावित नागरिकलाई राखिएका पाँचवटा होल्डिङ सेन्टरको समेत अवलोकन गर्ने कार्यक्रम छ। सो क्रममा उनले होल्डिङ सेन्टरमा रहेका प्रभावित नागरिकसँग भेटघाट तथा उनीहरूको अवस्थाबारे छलफल गर्नेछन्।त्यसपछि देवीघाट हुँदै गल्छी र गजुरी पुगेर बाढी प्रभावित नागरिकसँग भेटघाट तथा अन्तरक्रिया गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।








