मंसिर ०६, पोखरा ।।
विन्ध्यवासिनी क्याम्पस, बाटुलेचौर अध्यक्षमा शिक्षासेवी शोभामोहन पौडेल चयन भएका छन् ।
क्याम्पस संचालक समितिको शनिबार पाँचौं अधिवेशनले पौडेलको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति निर्विरोध निर्वाचित गरेको हो । सदस्य नरनाथ भट्टराई, विनोद अधिकारी, हरिबहादुर बरुवाल, उषा बरुवाल, मीनबहादुर गुरुङ, मोहनकुमार सुनार, बलबहादुर श्रेष्ठ, प्रकाश तिमिल्सिना, टेकनाथ आचार्य र विष्णु नेपाली रहेका छन् । संचालक समितिको कार्यकाल ३ वर्षको हुनेछ ।
उच्च अदालत बार एसोसिएसन पोखराका अध्यक्ष अधिवक्ता शालिराम भट्टराईको संयोजकतवमा गठित निर्वाचन समितिले चुनावी कार्यक्रम सम्पन्न गरेको थियो । निर्वाचन समितिमा रुद्रबहादुर थापा, अग्निधर शर्मा, हिमलाल आचार्य र रुद्रनाथ देवकोटा थिए ।
यसअघि, अधिवेशनको उद्घाटन गर्दै संस्थापक क्याम्पस प्रमुख नरहरि भट्टराईले सामुदायिक क्याम्पस जोगाउन सरोकारवाला सबैको ध्यान जानुपर्ने बताउँदै आफूले जीवनभर शिक्षण पेशामा गुजारेको अनुभव सुनाए ।
क्याम्पस प्रमुख सुमनकेशव पराजुलीले क्याम्पसका गतिविधि, आर्थिक विवरण र कार्ययोजनाबारे प्रस्ट पारे । क्याम्पस सञ्चालक समिति अध्यक्ष दानबहादुर बानियाँले आफ्नो कार्यकालमा क्याम्पसको शैक्षिक गुणस्तर र आर्थिक कोषवृद्धि गरेको बताए ।
कार्यक्रममा क्याम्पसका सभा सदस्य शोभामोहन पौडेल, विन्ध्यवासिनी मावि सहायक प्रअ शिवप्रसाद सापकोटा, सदस्य मोहन सुनारले शुभकामना व्यक्त गरेका थिए ।
नवनिर्वाचित अध्यक्ष पौडेलले आफू निरन्तर शैक्षिक क्षेत्रको विकासमा लागि परेको बताउँदै शिक्षामा राजनीतिको प्रभाव पर्न नहुने बताए ।
समिति अध्यक्ष बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सदस्य दुर्गा केसी थापा र संचालन क्याम्पसका लेखापाल भीमबहादुर गायकले गरे ।








