टाइगर कप भलिबल प्रतियोगिताको दोस्रो संस्करण पोखरा रंगशालामा हुने
  • प्रमुख खबर

पोखराको प्रतिष्ठित टाइगर कप भलिबल प्रतियोगिताको दोस्रो संस्करण सोमबारदेखि पोखरा रंगशालामा हुने भएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा यहि पौष २६ गते सोमबारदेखि माघ १ गतेसम्म “दोस्रो टाइगर कप आमन्त्रित खुल्ला क्लब च्याम्पीयनसीप महिला तथा पुरुष भलिबल प्रतियोगिता” हुन लागेको हो ।

राउण्ड रोविन लिगको आधारमा संचालन हुने सो प्रतियोगितामा महिला र पुरुष गरी १० टिमको सहभागिता हुने आयोजकले आज पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ । प्रतियोगितामा महिलातर्फ विभागीय टिमहरु नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लबसहित न्यू डायमण्ड एकेडेमी र आयोजक टाइगर ग्रुप अफ पोखराको टिम सहभागि हुने संस्थाका अध्यक्ष नारायण प्रसाद शर्माले बताएका छन् ।त्यस्तै पुरुषतर्फ विभागीय टिमहरु नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लबसहित टिपटप हेल्पलाईन स्पोर्टस क्लब र गण्डकी प्रदेशको टिम सहभागी रहने भएका छन् ।

प्रतियोगिताको दुवै महिला तथा पुरुष तर्फको उपाधि विजेता टिमलाई समान नगर रु ३÷३ लाखसहित ट्रफी, उपविजेता महिला तथा पुरुष दुवै टिमलाई समान नगर रु १ लाख ५० हजार, तृतीय हुने महिला तथा पुरुष दुवै टिमलाई समान नगद रु ७५ हजार र सान्त्वना हुने महिला तथा पुरुष दुवै टिमलाई समान नगर रु ३५ हजार प्रदान गर्ने समेत अध्यक्ष शर्माले जानकारी दिएका छन् । उनका अनुसार हरेक विधाका उत्कृष्ठ खेलाडीहरुलाई नगर रु १०÷१० हजारसहित ट्रफी प्रदान गरिने भएको छ  । प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गर्ने कार्यक्रम तय भएको र प्रतियोगिता अवलोकनका लागि साउथ एशिया सेन्ट्रल भलिबलका अध्यक्ष मोहमद लतिफ समेत पोखरा आउने आयोजकले बताएको छ ।

सो प्रतियोगिताको उद्घाटन खेल सोमबार दिउँसो १ बजे पुरुषतर्फको डिफेण्डिङ च्याम्पीयन गण्डकी प्रदेश र सशस्त्र प्रहरीको एफिएफ ्क्लब आमनेसामने हुने भएको छ । उद्घाटन १ बजे भएतापनि राउण्ड रोविन लिग अन्र्तगतका खेलहरु भने विहान ८ बजेबाट नै संचालन हुने  समेत आयोजक टाइगर ग्रुपले जनाएको छ । पोखरा रगंशालामा ६ दिनसम्म संचालन हुने प्रतियोगिताका खेल हेर्न दर्शकहरुले प्रवेश टिकट लिनुपर्ने भएको छ । आयोजकका अनुसार प्रवेश टिकट दर भने रु २ सय र ३ सय कायम गरिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्